विश्वकप लिग-२ सिरिज सकेर नेपाल फर्कियो क्रिकेट टोली
काठमाडौं : आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत ओमानमा आयोजित त्रिकोणात्मक एकदिवसीय शृङ्खला खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली मङ्गलबार बेलुकी स्वदेश फर्किएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको नेपाली टोलीलाई नेपाल क्रिकेट सङ्घ (क्यान) का तर्फबाट केन्द्रीय सदस्य राजेश महर्जन, खेमराज अवस्थीलगायतका प्रतिनिधिहरूले स्वागत गरे।
ओमान र क्यानडा सम्मिलित उक्त शृङ्खलामा नेपालको प्रदर्शन उत्कृष्ट रह्यो। नेपालले खेलेका चार खेलमध्ये तीन खेलमा जित निकाल्यो।
घरेलु टोली ओमानविरुद्धका दुवै खेलमा जित दर्ता गरेको नेपालले क्यानडाविरुद्ध भने एक जित र एक हारको नतिजा निकालेको थियो।
यस शृङ्खलापछि नेपाल लिग-२ मा सबै ३६ खेल खेलेर ३० अङ्कका साथ छैटौँ स्थानमा रह्यो। एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाउन छैटौँ स्थानभित्र रहनुपर्ने प्रावधानका कारण नेपालका लागि यो नतिजा अर्थपूर्ण बनेको छ।
स्वदेश फर्किएका नेपाली खेलाडीहरू अब बडादसैँको टीकापछि नेपाल प्रिमियर लिग (एनपीएल) को तयारीमा जुट्नेछन्।
कात्तिक ३, २०८३ मंगलबार २०:५१:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।