सुनसरीमा एम्बुलेन्सबाट ५७४ किलोभन्दा बढी गाँजा बरामद

सुनसरीमा एम्बुलेन्सबाट ५७४ किलोभन्दा बढी गाँजा बरामद

सुनसरी : सुनसरीको दुहबीमा एम्बुलेन्स प्रयोग गरी ओसारपसार भइरहेको अवस्थामा ५७४ किलोभन्दा बढी लागूऔषध गाँजा प्रहरीले बरामद गरेको छ।  

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार इटहरीबाट विराटनगरतर्फ जाने कोशी राजमार्गमा गाँजा बोकेको एम्बुलेन्स गुडिरहेको सूचना प्राप्त भएको थियो। सोही सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दुहबी र सीआरभी दुहबीबाट खटिएको प्रहरी टोलीले चेकजाँच तथा खोजतलास गर्ने क्रममा दुहबी–६ स्थित बूढी खोलाको किनारमा गाँजासहितको एम्बुलेन्स फेला पारेको हो।

ना ४ च ६०६३ नम्बरको एम्बुलेन्स एम्बुलेन्समा ५७४.८७ किलो लागूऔषध गाँजा भेटिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। एम्बुलेन्सका चालक र गाँजा तस्करीमा संलग्न व्यक्ति भने फरार छन्।

प्रहरीले गाँजा र एम्बुलेन्सलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दुहबी, सुनसरीमा राखेर घटनाबारे थप अनुसन्धान कार्य अघि बढाएको छ। 

कात्तिक २, २०८३ सोमबार १५:२२:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।