ओमानलाई १० रनले हराउँदै नेपालले छैटौं स्थानमा टुङ्ग्यायो लिग-२, ओडिआई मान्यता जोगियो त?

ओमानलाई १० रनले हराउँदै नेपालले छैटौं स्थानमा टुङ्ग्यायो लिग-२, ओडिआई मान्यता जोगियो त?

काठमाडौं : आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले घरेलु टोली ओमानलाई १० रनले पराजित गर्दै प्रतियोगिताको सुखद अन्त्य गरेको छ।

ओमानको अल अमरात क्रिकेट मैदानमा सोमबार भएको रोमाञ्चक खेलमा जित हात पारेसँगै नेपालले अंक तालिकाको छैटौँ स्थान सुरक्षित गरी आगामी चार वर्षका लागि आफ्नो एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) मान्यता जोगाएको छ।

३६ खेलबाट १४ जित, २० हार र २ खेलमा अंक बाँड्दै नेपालले ३० अंकसहित लिगको छैटौं स्थानमा रह्यो। क्यानडालाई (२९ अंक) एक अंकले पछि पार्दै नेपालले ओडिआई मान्यतालाई खतराबाट जोगाएको हो।

के नेपालको ओडिआई मान्यता जोगियो?
आईसीसीको वर्तमान विश्वकप छनोट संरचनाअनुसार लिग-२ का शीर्ष ६ टोलीले आगामी चक्र (४ वर्ष) का लागि सिधै आफ्नो ओडिआई मान्यता कायम राख्ने प्रावधान छ।

तालिकाको पुछारमा रहने दुई टोलीले भने ओडिआई मान्यता बचाउनका लागि ‘च्यालेन्ज लिग’ का शीर्ष टोलीहरूसँग ‘क्वालिफायर प्लेअफमा संघर्ष गर्नुपर्ने जोखिम हुन्छ।

ओमानविरुद्ध मैदान उत्रनुअघि नेपाललाई ओडिआई मान्यता बचाउन जितको विकल्प थिएन।

हारको अवस्थामा नेपाल २८ अंकमै सीमित हुँदै सातौं स्थानमा झर्ने र ओडिआई मान्यता जोखिममा पर्ने थियो। तर, १० रनको जितसँगै ३० अंक पुर्याएर नेपालले शीर्ष ६ भित्र स्थान पक्का गर्यो।

यद्यपि, शीर्ष चारभित्र नपरेका कारण नेपालले सन् २०२७ को एकदिवसीय विश्वकप ग्लोबल छनोटमा सिधै स्थान भने बनाउन सकेन। यसअघिको चक्रमा भने शीर्ष ४ मा स्थान बनाउँदै नेपाल सिधै विश्वकप छनोटमा पुगेको थियो।

अब विश्वकपको बाटो खुला राख्न नेपालले लिग-२ का पुछारका अन्य तीन टोली तथा च्यालेन्ज लिगका टोलीहरूसँग ‘क्वालिफायर प्लेअफ’ खेल्नुपर्नेछ। तर, ओडिआई मान्यताका दृष्टिकोणले नेपाल पूर्ण रूपमा सुरक्षित भइसकेको छ।

रोहित र दीपेन्द्रको कीर्तिमानी साझेदारी
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा सबै विकेट गुमाएर २८० रनको बलियो योगफल खडा गरेको थियो।

खराब सुरुवात गरेको नेपालले १९ रनमै ओपनर आसिफ शेख (७) लाई गुमाएको थियो। त्यसपछि ओपनर देव खनालले ५७ रन र इशान पाण्डेले २९ रन बनाएर दोस्रो विकेटका लागि ६४ रन जोड्दै इनिङ्स सम्हाले।

तर, ९९ रनमा ३ विकेट खसेपछि कप्तान रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीले इनिङ्सलाई आक्रामक मोड दिए।

दुवैबीच चौथो विकेटका लागि १३९ रनको ऐतिहासिक साझेदारी भयो। यो नेपालका लागि ओडिआई क्रिकेटको चौथो विकेटमा भएको हालसम्मकै उच्च साझेदारी हो।

यसअघि भीम सार्की र गुलशन झाको नाममा रहेको ९६ रनको साझेदारीको कीर्तिमानलाई उनीहरूले तोडेका हुन्। रोहितले ८१ बलमा २ चौका र २ छक्कासहित ८० रन बनाए भने दीपेन्द्रले ६२ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै ६९ रनको विष्फोटक अर्धशतक जोडे।

तल्लो क्रममा बशिर अहमदले ७ बलमै २ चौका र १ छक्का प्रहार गर्दै १७ रन जोडेपछि नेपाल २८० रनको सम्मानजनक स्कोरसम्म पुग्यो। ओमानका बलर शाह फैसलले ५ तथा जय ओडेद्राले ३ विकेट लिए।

जतिन्दर र हम्मादको लडाइँ खेर, ओमान १० रनले पराजित
२८१ रनको विजयी लक्ष्य पछ्याएको ओमानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २७० रन मात्र जोड्न सक्यो।

ओमानका लागि जतिन्दर सिंह (८९ रन) र हम्माद मिर्जा (८७ रन) ले दोस्रो विकेटका लागि १५८ रनको शतकीय साझेदारी गरे। यो ओमानको ओडिआई इतिहासमै दोस्रो विकेटका लागि भएको सर्वोच्च साझेदारी बन्यो। उनीहरूले जतिन्दर र जिशान मक्सुदको नाममा रहेको १२४ रनको कीर्तिमान भंग गरे।

एक समय ओमान ३७ ओभरमा १९०/१ को बलियो स्थितिमा थियो र खेल नेपालको हातबाट फुस्किसकेको जस्तो देखिन्थ्यो।

तर, ३८औँ ओभरको अन्तिम बलमा ललित राजवंशीले जतिन्दरलाई दीपेन्द्रमार्फत क्याच आउट गराएपछि खेलको नक्सा बदलियो। त्यसपछि कप्तान सन्दीप लामिछानेले हम्माद मिर्जालाई आउट पारे भने दीपेन्द्रले थप दुई विकेट लिएर खेल नेपालतर्फ मोडे।

अन्तिम ओभरहरूमा हस्नैन शाहले २३ बलमा अविजित ४० रन बनाउँदै दबाब सिर्जना गरे तापनि नन्दन यादव र करण केसीले कसिलो बलिङ गर्दै नेपाललाई १० रनको सनसनीपूर्ण जित दिलाए। नेपालका लागि ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले २-२ विकेट लिए भने नन्दन यादव र सन्दीप लामिछानेले १-१ विकेट हात पारे।

यस खेलमा दुवै टोलीले गरी कुल ५५० रन बनाए, जुन नेपाल र ओमानबीचको एकदिवसीय क्रिकेट इतिहासमै हालसम्मको सबैभन्दा बढी रन हो।

कात्तिक २, २०८३ सोमबार १९:३७:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।