पोर्चुगलको क्याम्प छाडेका रोनाल्डोलाई ३० दिनको निलम्बन, २५५ युरो जरिवाना

पोर्चुगलको क्याम्प छाडेका रोनाल्डोलाई ३० दिनको निलम्बन, २५५ युरो जरिवाना

एजेन्सी : पोर्चुगलका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो राष्ट्रिय टोलीको क्याम्प छाडेको घटनामा कारबाहीमा परेका छन्।

पोर्चुगिज फुटबल महासंघ (एफपिएफ)ले राष्ट्रिय टोलीको प्रशिक्षण शिविर बीचमै छाडेको भन्दै ४१ वर्षीय रोनाल्डोलाई ३० दिनको निलम्बन र  २५५ युरो आर्थिक जरिवाना लगाएको छ।   

प्रशिक्षक जर्ज जिसससँगको विवाद र असन्तुष्टिका कारण रोनाल्डोले गत महिना डेनमार्कविरुद्धको खेलअघि कोपेनहेगनस्थित पोर्चुगलको प्रशिक्षण शिविर अचानक छाडेका थिए।नर्वेविरुद्धको खेलमा बेञ्चमा राखिएपछि र डेनमार्कविरुद्धको खेलमा पनि सुरुवाती ११ मा नपर्ने जानकारी पाएपछि उनको प्रशिक्षकसँग असन्तुष्टि बढेको थियो। रोनाल्डोले ​​​​​प्रशिक्षकसँग भएका कुराकानी सार्वजनिक गर्ने शैलीप्रति असन्तुष्टि जनाउँदै रोनाल्डोले प्रशिक्षकले आफ्नो वाचा तोडेको आरोप लगाएका थिए।

क्याम्प छाडेपछि रोनाल्डोले समर्थकहरूसँग माफी माग्दै आफूले गल्ती स्वीकार गरेको र सजाय भोग्न तयार रहेको बताएका थिए।

पोर्चुगिज फुटबल फेडेरेसनको अनुशासन समितिले रोनाल्डोले आफ्नो गल्ती स्वीकार गर्दै लिखित बयान बुझाएको र आफ्ना विगतका सफा रेकर्डलाई मध्यनजर गर्दै ३० दिनको प्रतिबन्ध र अधिकतम जरिवानाको निर्णय गरेको हो। फेडेरेसनले यो सजायलाई "पर्याप्त र उचित" भनेको छ।  

यस प्रतिबन्धसँगै पोर्चुगल टोलीले आगामी युइएफए नेसन्स लिगका खेलहरू उनीबिना नै खेल्नुपर्नेछ। यद्यपि, फेडेरेसनका अध्यक्ष पेड्रो प्रोएन्काले अनुशासनको कारबाही सकिएलगत्तै रोनाल्डोलाई पुनः राष्ट्रिय टोलीमा स्वागत गर्न इच्छुक रहेको संकेत गरेका छन्। साथै, उनले आफ्नो अन्तर्राष्ट्रिय करियर अन्त्य नभएको र सजाय भुक्तान गरेपछि राष्ट्रिय टोलीबाट खेल्न पुनः खेल्ने स्पष्ट पारेका छन्।

पाँच पटक बालोन डी’ओर विजेता रोनाल्डोले पोर्चुगलका लागि २३४ खेलमा १४६ गोल गरेका छन्। पुरूष अन्तर्राष्ट्रिय फुटबलमा खेल संख्या र गोल दुवैमा उनको कीर्तिमान छ। पोर्चुगललाई सन् २०१६ को युरोकप र नेसन्स लिगका दुई उपाधि जिताउन उनले महत्वपूर्ण योगदान गरेका थिए। 

कात्तिक ३, २०८३ मंगलबार १४:२२:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।