एनपीएलका सबै खेलमा ‘डीआरएस’ लागू हुने, खेल समय पनि संशोधन
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका सम्पूर्ण खेलहरूमा ‘डिसिजन रिभ्यु सिस्टम’ (डीआरएस) प्रविधि प्रयोग गरिने भएको छ।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले एक विज्ञप्ति जारी गर्दै प्रतियोगिताभर डीआरएस लागू गर्ने र सोहीअनुसार खेल तालिकाको समयसमेत हेरफेर गरिएको जानकारी दिएको हो।
डीआरएस प्रणाली लागू भएसँगै खेलका क्रममा मैदानी अम्पायरले गरेका निर्णयप्रति असहमति भएमा सम्बन्धित टोलीले त्यसलाई चुनौती दिँदै पुनरावलोकन (रिभ्यु) माग गर्न सक्नेछन्। टोलीको मागपछि तेस्रो अम्पायरले दृश्य सामग्री (भिडियो फुटेज) हेरेर निर्णयको समीक्षा गर्नेछन्।
प्रतियोगितामा डीआरएस प्रविधि थपिएपछि समय व्यवस्थापनलाई ध्यानमा राख्दै क्यानले खेल सञ्चालनको समय संशोधन गरेको छ।
संशोधित तालिकाअनुसार एकै दिन दुई खेल हुने मितिमा पहिलो खेल दिउँसो १२:३० बजे र दोस्रो खेल साँझ ५ बजे सुरु हुनेछ। यसैगरी, दैनिक एउटा मात्र खेल हुने दिन भने खेल साँझ ५ बजेबाट सञ्चालन हुने क्यानले जनाएको छ।
एनपीएलको तेस्रो संस्करण यही कात्तिक ९ गतेदेखि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुँदैछ।
कात्तिक ३, २०८३ मंगलबार २०:१७:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।