एनपीएलको तेस्रो संस्करणमा प्रयोग हुनेछ डीआरएस प्रविधि
काठमाडौं : कीर्तिपुर मैदानमा कात्तिक ९ गतेदेखि सञ्चालन हुने नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग हुने भएको छ। नेपाल प्रिमियर लिगको आधिकारिक फेसबुक पेजमार्फत डीआरएसको प्रयोगबारे जानकारी दिइएको हो।
प्रतियोगितामा एलबीडब्लुको पुनरावलोकनका लागि 'फूल थ्रीडी बल ट्र्याकिङ' प्रविधिको प्रयोग गरिनेछ। यसका साथै रनआउट, स्टम्पिङ र नो बलको पनि रिभ्यू हुनेछ।
त्यसैगरी ब्याटमा बल लागे/नलागेको यकिन गर्न एआईमा आधारित एज डिटेक्सन पनि हुनेछ। उचाइको वाइड, छक्काको लम्बाइ तथा उचाइ मापन र अन्य बलिङ विश्लेषण समेत उपलब्ध हुने जनाएको छ।
मैदानमा अम्पायरको निर्णय त्रुटीपूर्ण लागेमा दुवै टोलीले रिभ्यू लिने अवसर पाउनेछन्, जसबाट बलिङ टोलीले विकेट प्राप्त गर्न तथा ब्याटिङ टोलीले विकेट जोगाउन मद्दत पुग्नेछ।
नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले एनपीएलमा डीआरएसको प्रयोग हुनु नेपाली क्रिकेटका लागि कोशेढुंगा साबित हुने बताएका छन्। डीआरएस क्रिकेटमा पछिल्लो समय प्रयोग हुँदै आएको चर्चित प्रविधि हो।
कात्तिक ३, २०८३ मंगलबार १०:२०:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।