दशैंमा नेपाल प्रहरी र सशस्त्रको निःशुल्क बस सेवा

दशैंमा नेपाल प्रहरी र सशस्त्रको निःशुल्क बस सेवा

काठमाडौं : दशैंको समयमा सार्वजनिक यातायातको अभाव र यात्रुको चापलाई मध्यनजर गर्दै सुरक्षा निकायहरूले काठमाडौं उपत्यका तथा बाहिर निःशुल्क बस सेवा सञ्चालनमा ल्याएका छन्।

चाडपर्वका बेला सर्वसाधारण तथा सुरक्षाकर्मी र तिनका परिवारको आवागमनलाई सहज बनाउन नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपाल (एपीएफ)ले आ-आफ्नो तर्फबाट बस सेवा सुरु गरेका हुन्।

काठमाडौं उपत्यकामा नेपाल प्रहरी
नेपाल प्रहरीले कात्तिक ३ र ४ गते उपत्यकाका तीनवटा मुख्य रुटमा निःशुल्क बस चलाउने व्यवस्था मिलाएको छ।

प्रहरीका अनुसार कात्तिक ३ गते दिउँसो ४:०० बजेदेखि तथा कात्तिक ४ गते (विजयादशमी) बिहान ८:०० बजे र दिउँसो ३:३० बजे गरी दुई सिफ्टमा बस चल्नेछन्।

प्रहरी प्रधान कार्यालय, नक्साललाई केन्द्र बनाएर चल्ने बसका रुटहरू यस प्रकार छन्:

रुट नं. १ : नक्साल - बालुवाटार - टिचिङ - चक्रपथ - नयाँ बसपार्क - बालाजु - स्वयम्भू - कलङ्की - बल्खु - सातदोबाटो - लगनखेल - जावलाखेल - थापाथली - माइतीघर - पुतलीसडक - कृष्णपाउरोटी - जयनेपाल हल हुँदै पुनः नक्साल।

रुट नं. २ : नक्साल - रत्नपार्क - बानेश्वर - कोटेश्वर - सल्लाघारी - सूर्यविनायक चोक - कोटेश्वर - विमानस्थल - गौशाला - चाबहिल - सुकेधारा - चक्रपथ - टिचिङ - बालुवाटार हुँदै पुनः नक्साल।

रुट नं. ३ : नक्साल - सोह्रखुट्टे - बालाजु चोक - नयाँ बसपार्क - नारायणगोपाल चोक - चक्रपथ - सुकेधारा - गौशाला - विमानस्थल - कोटेश्वर - सातदोबाटो - एकान्तकुना - बल्खु - कलङ्की - नयाँ बसपार्क - चक्रपथ - महाराजगञ्ज हुँदै पुनः नक्साल।

उपत्यका र लामो दूरीमा सशस्त्र प्रहरी बल
सशस्त्र प्रहरी बलले उपत्यकाभित्र सर्वसाधारणका लागि र उपत्यकाबाहिर सुरक्षाकर्मी, तिनका परिवारजन तथा अन्य यात्रुलाई लक्षित गरी सेवा सञ्चालन गरेको छ।

उपत्यकाभित्रका सर्वसाधारणका लागि कात्तिक २ गतेदेखि लगातार तीन दिनसम्म बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म दुईवटा बस सञ्चालन गरिएका छन्।

जसमा पहिलो बस कलङ्की-बल्खु हुँदै कोटेश्वरसम्म, दोस्रो बस बालाजु-नयाँ बसपार्क हुँदै चक्रपथ परिक्रमा गर्नेछ। यात्रुको चाप र आवश्यकता हेरेर यो सेवा थप एक दिन लम्ब्याउन सकिने सशस्त्र प्रहरीले जनाएको छ।

​​​​​​घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म तथा तिहारको अवधिभर काठमाडौंबाट पूर्व झापाको काँकरभिट्टा र पश्चिम कञ्चनपुरको गड्डाचौकीसम्म दैनिक दुईवटा बस सञ्चालन भइरहेका छन्। यो सेवा बहालवाला तथा पूर्वसशस्त्र प्रहरी, तिनका परिवार र अन्य यात्रुले निःशुल्क उपयोग गर्न पाउनेछन्।

दशैं तथा टीकाको समयमा उपत्यकामा सार्वजनिक सवारीसाधन न्यून चल्ने भएकाले आफन्तजनकोमा टीका तथा आशीर्वाद थाप्न जाने सर्वसाधारण र लामो दूरीको यात्रा गर्ने यात्रुहरूलाई सुरक्षा निकायले यस्तो कदम चालेको हो।

कात्तिक ३, २०८३ मंगलबार २०:३२:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।