दशैँमा ५ लाख ७६ हजारले छाडे काठमाडौं, मापसेमा ६२५ चालक कारबाहीमा

दशैँमा ५ लाख ७६ हजारले छाडे काठमाडौं, मापसेमा ६२५ चालक कारबाहीमा

काठमाडौं : दशैँ मनाउन पाँच लाख ७६ हजार जना काठमाडौं उपत्यका बाहिर गएका छन्। यो गत वर्षको तुलनामा कम संख्या हो।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि नवमीसम्म ५ लाख ७६ हजार ५ सय ७८ जनाले काठमाडौं उपत्यका छाडेका हुन्। गत वर्ष ६ लाख ६० हजार ८ सय ४६ जनाले काठमाडौँ उपत्यका छाडेका थिए।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार दशैंका कारण यतिबेला काठमाडौं उपत्यकामा सवारीसाधनको आवागमन न्यून छ। गत वर्षको तथ्याङ्कसँग तुलना गर्दा यस वर्ष उपत्यका छाड्नेको संख्या केही कम रहेको उनले बताए।

“गत वर्षको तुलनामा यस वर्ष दसैँ मनाउन काठमाडौं उपत्यका छाड्नेको संख्या केही कम रहेको देखिन्छ। घटस्थापनादेखि हालसम्म ५ लाख ७६ हजार ५ सय ७८ जना सर्वसाधारणले उपत्यका छाडेका छन्। यस अवधिमा ७९ हजार ७ सय ७६ वटा सवारीसाधन बाहिरिएका छन्” उनले नेपाल न्युज बैंकसँग भने।

यसैबीच, ट्राफिक प्रहरीले मादक पदार्थ सेवन (मापसे) गरी सवारीसाधन चलाउने ६२५ जनालाई कारबाही गरेको छ। त्यस्तै, लागुऔषध सेवन (लापसे) गरी सवारीसाधन चलाउने २६ जनामाथि पनि कारबाही गरिएको सूचना अधिकारी सुवेदीले जानकारी दिए।

कात्तिक ३, २०८३ मंगलबार १९:२४:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।