रसुवा र नुवाकोटका धार्मिक तथा पर्यटकीय स्थल सुरक्षित, ढुक्क भएर भ्रमण गर्न आह्वान

रसुवा र नुवाकोटका धार्मिक तथा पर्यटकीय स्थल सुरक्षित, ढुक्क भएर भ्रमण गर्न आह्वान

रसुवा : गत भदौमा भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले क्षतिग्रस्त बनाएका सडक मर्मतसम्भार भएसँगै रसुवा र नुवाकोटको जनजीवन सामान्य लयमा फर्किएको भन्दै सरोकारवालाहरूले आन्तरिक तथा बाह्य पर्यटकलाई ढुक्क भएर भ्रमण गर्न आह्वान गरेका छन्।

नदी तटीय क्षेत्रबाहेक अन्य पर्यटकीय तथा धार्मिक स्थलहरू पूर्ण रूपमा सुरक्षित रहेकाले उनीहरूले यस्तो आह्वान गरेका हुन्।

रसुवाका प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेका अनुसार बाढीपछि अवरुद्ध बनेका मुख्य सडकहरू सञ्चालनमा आइसकेका छन्। धादिङको गल्छीबाट देवीघाट-ढुङ्गे-त्रिशूली हुँदै बेत्रावती जोड्ने सडक पूर्ण रूपमा सुचारु भइसकेको छ।

त्यस्तै स्याफ्रुबेँसीमा फड्के पुल निर्माण भइसकेको र छिट्टै बेलिब्रिज जडान गर्ने तयारी भइरहेको छ। प्रजिअ पाण्डेले यातायात, होटल व्यवसाय तथा शान्तिसुरक्षाको अवस्था मजबुत बनाइएकाले यात्रामा कुनै बाधा नहुने स्पष्ट पारे।

होटल तथा रेस्टुरेन्ट व्यवसायी सङ्घ नुवाकोट र होटल तथा पर्यटन व्यवसायी सङ्घ रसुवाले पनि पर्यटकीय गन्तव्यहरू सहज भइसकेकाले बिनाहिचकिचाहट भ्रमण गर्न आग्रह गरेका छन्।

व्यवसायीहरूले पाहुनाहरूलाई विगतमा झैँ गुणस्तरीय सेवा-सुविधा र आतिथ्य प्रदान गर्न आफूहरू पूर्ण रूपमा तयार रहेको बताएका छन्।

होटल तथा पर्यटन व्यवसायी सङ्घ रसुवाका अध्यक्ष विशाल घलेले जिल्लाका धार्मिक तथा पर्यटकीय स्थल पुग्ने सबै मार्ग सुरक्षित रहेकाले निर्धक्क यात्रा गर्न अनुरोध गरे।

यसैगरी, रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले रसुवावासी पाहुनाको स्वागतका लागि आतुर रहेको बताउँदै यात्रामा कुनै असहजता नहुने स्पष्ट पारे।

होटल व्यवसायी महासङ्घ नेपालका वरिष्ठ उपाध्यक्ष सन्तोष उप्रेतीले पर्यटकीय, व्यावसायिक वा व्यक्तिगत कामका लागि नुवाकोट र रसुवा आउन चाहनेहरूलाई कुनै पनि डर, त्रास वा द्विविधा नराख्न आग्रह गरे।

कात्तिक ३, २०८३ मंगलबार १९:२९:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।