दिगो विकासका लागि विज्ञान र नवप्रवर्तन सरकारको प्राथमिकता: मन्त्री महावीर पुन
नारायणगढ : विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको दिगो आर्थिक विकास र समृद्धिका लागि विज्ञान तथा नवप्रवर्तनलाई सरकारले उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन्।
नारायणगढमा आयोजित स्थानीयवासीहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री पुनले नवप्रवर्तन, प्रविधिको उपयोग र कानुन निर्माणलाई पहिलो प्राथमिकतामा राखेर सरकारले काम गरिरहेको बताए।
मन्त्री पुनले नयाँ मन्त्रालय स्थापना भएको र आवश्यक कानुनको अभावमा प्रारम्भमा केही चुनौती भए पनि त्यसलाई पार लगाउँदै सरकार समृद्ध नेपाल निर्माणको मार्गमा अग्रसर भएको बताए।
“कानून निर्माणका प्रक्रिया केही जटिल र समय लाग्ने भए पनि अध्यादेशबाट कानुनी बाटो खोलिएको छ। अब मन्त्रालयले आफ्ना योजना र अनुसन्धानका कामलाई तीव्रताका साथ अघि बढाउनेछ,” मन्त्री पुनले भने।
कार्यक्रममा उपस्थित कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोभिता गौतमले पनि सुशासन, विकास र नवप्रवर्तनलाई प्रवर्द्धन गर्न आवश्यक १६५ वटा कानुन निर्माणको लक्ष्य राखिएको र ५४ वटा विधेयकका मस्यौदा तयार भइसकेको बताइन्। नवप्रवर्तनसम्बन्धी कानुन पनि चाँडै सदनमा प्रस्तुत गरिने मन्त्री गौतमले जानकारी दिइन्।
कात्तिक ३, २०८३ मंगलबार १६:००:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।