सिन्धुलीमा सुमो सुनकोशीमा खस्दा तीन जनाको मृत्यु, तीन जना बेपत्ता
खोटाङ : काठमाडौंबाट खोटाङतर्फ आउँदै गरेको यात्रुवाहक सुमो सिन्धुलीमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन्। दुर्घटनामा चालकसहित चार जना घाइते भएका छन्।
सिन्धुलीको फिक्कल गाउँपालिका-६ नागथानस्थित मध्यपहाडी लोकमार्गबाट गएराति करिब साढे २ बजे को १ ज २९७६ नम्बरको सुमो करिब १५० मिटर तल सुनकोशी नदीमा खसेको हो।
दुर्घटनामा परी मृत्यु हुनेमा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-५ लफ्याङका २१ वर्षीया युपना राई र १९ वर्षीया दिव्या राई तथा खोटेहाङ गाउँपालिका-६ इन्द्रेणीपोखरीकी १६ वर्षीया स्वस्तीका विश्वकर्मा रहेका छन्।
स्थानीयका अनुसार युपना र दिव्या काठमाडौंमा अध्ययनसँगै रोजगारी गर्दै आएका थिए भने स्वस्तीका माध्यमिक शिक्षा परीक्षा (एसइई) को तयारीमा थिइन्।
जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रकाश बुढाथोकीका अनुसार दुर्घटनापछि सुनकोशी नदीमा तीन जना बेपत्ता भएका छन्।
बेपत्ता हुनेहरूमा लफ्याङका २८ वर्षीय हरि पुर्कुटी, २६ वर्षीय सन्तोषकुमार मुग्राती र २२ वर्षीया अप्सरा राई रहेका छन्। उनीहरूको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएका चार जनामध्ये दुई जनाको अवस्था गम्भीर छ।
घाइते हुनेमा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-३ बाम्राङकी ३८ वर्षीया सम्झना राई, उनकी १२ वर्षीया छोरी शिवानी राई, खोटेहाङ-६ का १३ वर्षीय अङ्कित विश्वकर्मा र सुमो चालक ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका-२ का २९ वर्षीय आशिष विश्वकर्मा रहेका छन्।
घाइतेमध्ये चालक आशिष अझै बेहोस छन् भने गम्भीर घाइते भएकी सम्झनालाई स्थानीय स्वास्थ्य संस्थामा उपचार सम्भव नभएपछि थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको छ। अन्य घाइते शिवानी र अङ्कितको सिन्धुली जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
काठमाडौंबाट गएराति करिब ११ बजे हिँडेको उक्त सुमोमा चालकसहित १० जना सवार थिए। रातिको समयमा तीव्र गति र चालक निदाएका कारण अनियन्त्रित भई सुमो सडकबाट नदीमा खसेको हुन सक्ने घटनास्थल पुगेको प्रहरी टोलीको प्रारम्भिक अनुमान छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
कात्तिक १, २०८३ आइतबार २२:१२:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।