आनीको पक्षमा महिला मन्त्रीका सल्लाहकार बानियाको तर्क : "सम्पत्ति शुद्धीकरण विरोधीलाई तह लगाउने हतियार, नागरिकता ठूलो विषय हैन”

आनीको पक्षमा महिला मन्त्रीका सल्लाहकार बानियाको तर्क :

काठमाडौं : अवैध रकम नेपाल भित्र्याएको र नागरिकताको गम्भीर विवादमा तानिएकी आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएसँगै आलोचना भएपछि कलाकार तथा महिला तथा बालबालिका मन्त्री सीता वादीका सल्लाहकार रवीन्द्र सिंह बानिया आनीको पक्षमा उभिएका छन्।

उनले सामाजिक सञ्जालमा उनको नियुक्तिको बचाउ गर्दै पक्षमा उभिँदै सम्पत्ति शुद्धीकरणको मुद्दा विरोधी तह लगाउने हतियार रहेको र गैर नेपाली भए पनि प्रतिभा भए नियुक्ति गर्दा केही फरक नपर्ने कुतर्क गरेका हुन्।

सम्पत्ति शुद्धीकरणको गम्भीर मुद्दाबारे मन्त्रीका सल्लाहकार समेत रहेका उनले “कसैले आफ्नो सेलेब्रेटी छविको प्रयोग गरेर कुनै माध्यमबाट पैसा नेपाल ल्याउँछ र नेपालको भलाइमा प्रयोग गर्छ भने त्यो विरोध गरिरहनु पर्ने विषय होइन। कानुनी प्रक्रिया मिलेको छैन भने मिलाउने हो, त्यसैको नाममा खेद्ने होइन” लेखेका छन्।

वर्तमान सरकारले नै अहिले एकपछि अर्को सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दा लगाइरहेको बेलामा उनले यस्तो गम्भीर विषयलाई उनले ‘यो त विरोधीलाई तह लगाउने यौटा हतियार हो” भनेर लेखेका छन्।

उनले नागरिकताको विषयलाई पनि निकै हल्का रूपमा “तिब्बती शरणार्थी परिवारमा जन्मिनु आनीको दोष नभएको तर्क गरेका छन्। उनले कुन परिवारमा जन्मिइन् भन्दा पनि मुख्य कुरा उनको बफादारिता कुन देश प्रति छ भन्ने रहेको र उनको बफादारिता नेपालमै छ भन्ने कुरामा शंका नभएको दाबी गरेका छन्।

के हो घटना ?

आनी हङकङबाट अवैध रूपमा १६ करोड रुपैयाँ नेपाल भित्र्याएको घटनामा जोडिएकी पात्र हुन्। नेपाल भित्र्याइएको सो रकम शंकास्पद देखिएपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छानबिन सुरु गरेको थियो।

२०७५ मा उनको तत्कालीन मेगा बैंकस्थित व्यक्तिगत खातामा हङकङको ‘एसेट म्यानेजमेन्ट कम्पनी’मा कार्यरत एक व्यक्तिमार्फत एकमुष्ट १५ लाख अमेरिकी डलर भित्रिएको थियो।

बैंकिङ च्यानलबाट आएको भए पनि अन्तर्राष्ट्रिय मापदण्ड र कानुनअनुसार उक्त रकमको न वैधानिक स्रोत पुष्टि हुन सक्यो, न त प्रयोजन नै। रकम शंकास्पद देखिएपछि मेगा बैंकले नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी एकाइलाई खबर गरेको थियो। राष्ट्र बैंकले उक्त रकम तत्काल रोक्का गरिदियो।

रकम रोक्का भएपछि आनीले उक्त धन ‘वैध’ भएको दाबी गर्दै विज्ञप्ति जारी गरे पनि उनले स्रोत पुष्टि गर्न सकिनन्। उनले सो रकम नेपाल ल्याउनुको स्पष्ट कानुनी औचित्य समेत पुष्टि गर्न सकेकी थिइनन्। अवैध धन ओसारपसारको गम्भीर आशंकामा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले २०७६ असारमा यस विषयमा ‘क्रस बोर्डर’ अनुसन्धान गर्ने घोषणा गरेको थियो।

तर, छ वर्ष बितिसक्दा पनि सो अनुसन्धान कसको दबाब र प्रभावमा तामेलीमा राखियो वा अलपत्र पारियो, त्यसको जवाफ राज्यका कुनै पनि निकायसँग छैन। विडम्बना त के छ भने, यो अनुसन्धान दबाउने सम्पत्ति शुद्धीकरण विभाग त्यसबेला प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत पर्दथ्यो भने अहिले अर्थ मन्त्रालय अन्तर्गत पर्छ।

उनको नागरिकताको विषय बानियाले दाबी गरे अनुसार तिब्बती शरणार्थीको सन्तान भएको आधारमा नभई नक्कली आमा-बाबुको आधारमा नेपाली नागरिकता लिएको गम्भीर आरोप हो। उनी विरुद्ध नक्कली बुबा खडा गरेर नागरिकता लिएको आरोपमा प्रहरीमा उजुरी परेको थियो। २०४६ सालमा छोइङ डोल्मा मोक्तान लामाको नामबाट जारी भएको नागरिकता शंकास्पद रहेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौं र तत्कालीन महानगरीय प्रहरी परिसरमा छानबिन सुरु भएको थियो।

प्रहरीले २०७६ पुस ८ गते चलानी नम्बर ८४६० मार्फत जिल्ला प्रशासन कार्यालयसँग नागरिकताको ढड्डा र विवरण माग गरेको थियो। तर राजनीतिक दबाबका कारण उनको नागरिकताबारे छानबिन अगाडि बढ्न सकेको छैन।

नक्कली बाबुआमा बनाएर नागरिकता लिएको विषयलाई उनले राज्यले सम्मान गर्दै नेपाली नागरिकता दिइएको कलाकारहरूसँग जोडेर आनीको बचाउ गरेका छन्।

सल्लाहकार बानियाँको तर्क

नेपालमा अहिले देशलाई चाहिने र केही गर्न सक्ने खालका मानिसको अभाव हुँदै गएको छ। अलि सम्भावना भएका नागरिकहरू पनि युरोप अमेरिका अस्ट्रेलियातिर पुग्दैछन् र तिनै देशको सेवा गर्दैछन्। यस्तो समयमा, विश्वभर ग्लोबलाईजेशनको लहर चलेको बेला, हामी चाहिँ नागरिकताको प्रावधानलाई कडा बनाउने पञ्चायतकालीन मानसिकता बोकेर बसिरहेका छौँ।

पञ्चायत ल्याउने महेन्द्रले लैनसिंह बाङ्देलजस्ता कहिल्यै नेपाल नटेकेका विद्धानलाई नेपाल बोलाएर महत्वपूर्ण जिम्मेवारी दिए। अमर गुरुङ, सूर्यविक्रम ज्ञवाली, धरणीधर कोइराला, पारसमणि प्रधानजस्ता साहित्यकारहरूलाई नेपाल ल्याइयो।

नेपालका प्रथम प्रधानन्यायाधीश हरि प्रसाद प्रधानलाई पनि दार्जिलिङबाटै ल्याइएको हो। त्यतिबेला कसैले विरोध गरेन। पारिजात पनि दार्जिलिङबाटै आएकी हुन्। पहिले गोर्खा दल र पछि पञ्चायतका नेता रणधिर सुब्बा, कम्युनिस्ट नेता निर्मल लामा, कांग्रेसका नेता डिबि परियार, कलाकार तुलसी घिमिरे, अरुणा लामा, कुन्ति मोक्तान, गोपाल योन्जन सबै दार्जिलिंगतिरैबाट आएका हुन्।

उनीहरूको आगमनले हामी कोही दुखी भएनौँ। भारतले हाम्रो तेन्जींगलाई टिपेर लगेर भारतीय बनायो, उदित र बालकृष्णलाई भारतीय भनेर चिनाउँदैछ। त्यहाँ उनीहरूको कसैले विरोध गरेको छैन, सबै खुसी छन्।

हामी भने आनीको नागरिकताको विषय उछालेर बसिरहेका छौँ। मैले थाहा पाएसम्म उनी अरू देशको बासिन्दा हैनन्, भएकी छैनन्। नेपालका राष्ट्रवादी भन्नेहरूले विदेशको पिआर लिने सपना देखिरहेका छन्, तर उनले अरू देशको पिआर लिएको थाहा छैन। बरु सकेसम्म नेपाल र नेपालीकै भलाई गरेको देख्छु। उनले गाएको 'फूलको आँखामा' भन्ने गीत मुक्तकण्ठले प्रशंसा गर्दै गुनगुनाएकै छौँ हामीले । उनले दिएको चन्दा ग्रहण गरेकै छौँ, त्यसबाट सामाजिक सेवाका कामहरू सम्पन्न गरेकै छौँ।

जहाँसम्म तिब्बती शरणार्थी भन्ने सवाल छ, उनी तिब्बत छाडेर शरणार्थी हुन नेपाल आएकी पक्कै होइनन्। उनी तिब्बती शरणार्थी परिवारमा जन्मिन् होला, तर यो उनको दोष होइन। मुख्य कुरा उनको बफादारिता कुन देश प्रति छ भन्ने हो, उनको बफादारिता नेपालमै छ भन्ने कुरामा कसैलाई शंका छैन। कोही नेपालमा जन्मेर वा हुर्केर नेपालको कल्याणकालागि जीवन अर्पिन्छ भने नेपालप्रतिको उसको बफादारिताको प्रश्न निरन्तर उठाउनु जायज होइन, नीचता हो।

तसर्थ नागरिकताको प्रश्नलाई कसैलाई हतोत्साहित गराउने हतियार बनाउन छोडौँ। रह्यो सम्पत्ति शुद्दिकरणको मुद्दा, यो त विरोधीलाई तह लगाउने यौटा हतियार हो। कसैले आफ्नो सेलेब्रेटी छविको प्रयोग गरेर कुनै माध्यमबाट पैसा नेपाल ल्याउँछ र नेपालको भलाइमा प्रयोग गर्छ भने त्यो विरोध गरिरहनु पर्ने विषय होइन। कानुनी प्रक्रिया मिलेको छैन भने मिलाउने हो, त्यसैको नाममा खेद्ने होइन।

आनि जत्तिको मान्छेले लुम्बिनी विकास कोषमा बसेर सेवा गर्छु भन्छ भने विरोध गर्ने होइन, बरु खुसीसाथ सो मौका दिनु पर्छ। भगवान् बुद्धको देशमा बुद्धको यौटा सक्षम उपासकले जिम्मेवारी स्विकार्छ भने विरोध गर्नुको कुनै अर्थ छैन।

कात्तिक ३, २०८३ मंगलबार २०:०७:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।