३ हजारको कपडा किनेकी नुवाकोटकी सन्तमायालाई १० लाख पुरस्कार
काठमाडौं : उपभोक्तामा बिल लिने बानीको विकास गरी कर प्रणालीलाई पारदर्शी बनाउने उद्देश्यले सञ्चालित ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अन्तर्गत असोज दोस्रो पाक्षिक (असोज १६ देखि ३१ गतेसम्म) को विजेता घोषणा गरिएको छ।
आइतबार बिहान न्यूरोडको विशाल बजार परिसरमा आयोजित प्रत्यक्ष कार्यक्रममार्फत चर्चित कलाकारद्वय दीपकराज गिरी र दीपाश्री निरौलाले डिजिटल गोलाप्रथा मार्फत १ जना बम्पर र १६ जना दैनिक गरी कुल १७ जना भाग्यशाली विजेताहरूको छनोट गरेका हुन्।
३ हजारको सामान किन्दा १० लाखको बम्पर उपहार
यस पटकको १० लाख रुपैयाँ राशिको पाक्षिक बम्पर उपहार नुवाकोटकी सन्तमाया तामाङले हात पार्न सफल भएकी छन्। उनले नुवाकोटस्थित ‘एस.एस. फेन्सी हाउस’ बाट ३ हजार रुपैयाँको लत्ताकपडा खरिद गरी बिल लिएकी थिइन्।
तामाङको कुपन नम्बर ०८१ ६३२ ५१५ ८४९ बम्पर उपहारका लागि छनोट भएको हो। प्रचलित कानुनबमोजिम २५ प्रतिशत करकट्टी गरी उनले हातमा नगद रु ७ लाख ५० हजार प्राप्त गर्नेछिन्।
११० रुपैयाँको बिलबाटै १ लाख नगद जित्ने १६ भाग्यमानी
दैनिक उपहारतर्फ १६ जना विजेता छनोट गरिएको छ। उनीहरू प्रत्येकले करकट्टीसहित रु १ लाख ३३ हजार ३३४ अर्थात् हातमा खुद नगद रु १ लाख प्राप्त गर्नेछन्।
सामान्य चिया-खाजा, मासु पसल, किराना पसलदेखि ठूला मार्टमा किनमेल गरेर बिल लिने उपभोक्ताहरू विजेता बनेका छन्।
जसमा तन्दुरी दरबारमा ११० रुपैयाँ को खाजा खाएका उपभोक्तादेखि विकास जनरल स्टोरमा १३० रुपैयाँ र अर्घाखाँची मासु पसलमा २६० रुपैयाँ को खरिद बिल लिने उपभोक्तासमेत १ लाख रुपैयाँ जित्न सफल भएका छन्।
उच्चपदस्थ अधिकारीहरूको उपस्थिति, ‘बिल मागौँ, बिल दिउँ’ अभियान
विशाल बजारमा आयोजित उक्त सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, अर्थ मन्त्रालय र आन्तरिक राजस्व विभागका उच्चपदस्थ अधिकारीहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा बोल्दै कलाकार दीपकराज गिरी र दीपाश्री निरौलाले सरकारले अघि सारेको ‘बिल मागौँ, बिल दिउँ’ अभियानले नागरिकलाई सचेत बनाउनुका साथै राजस्व चुहावट नियन्त्रणमा ठूलो टेवा पुग्ने बताए।
सानो रकमको किनमेलमा पनि अनिवार्य रूपमा स्थायी लेखा नम्बर सहितको आधिकारिक बिल माग्दा उपभोक्ता आफैँ लखपति बन्ने अवसर सिर्जना भएको उनीहरूको भनाइ थियो।
कसरी दाबी गर्ने पुरस्कार ?
आन्तरिक राजस्व विभागका अनुसार विजेताहरूले आफूले खरिद गरेको सक्कल बिल/बीजक र परिचयपत्रसहित नजिकैको आन्तरिक राजस्व कार्यालयमा सम्पर्क गरी पुरस्कार रकम दाबी गर्न सक्नेछन्।
उपभोक्ताले वस्तु तथा सेवा खरिद गर्दा प्राप्त बिललाई विभागको आधिकारिक पोर्टल prize.ird.gov.np वा तोकिएका डिजिटल वालेटमार्फत प्रविष्टि गराएर कुपन नम्बर प्राप्त गर्न सक्ने व्यवस्था मिलाइएको छ।
विभागले आगामी दिनमा पनि किनमेल गर्दा अनिवार्य रूपमा सक्कल बिल लिन र कार्यक्रममा सहभागी हुन आम नागरिकलाई अपिल गरेको छ।
कात्तिक १, २०८३ आइतबार २०:४९:५६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।