डोल्पामा साल अड्किएर जटिल प्रसूति भएकी महिलाको उद्धार, उपचारका लागि सुर्खेत पुर्याइयो
सुर्खेत : डोल्पाको विकट बस्तीमा प्रसूति व्यथासँगै साल अड्किएर अवस्था जटिल बनेकी एक गर्भवती महिलालाई उद्धार गरी उपचारका लागि सुर्खेत ल्याइएको छ।
शे–फोक्सुण्डो गाउँपालिका–४ नाम्दोकी २८ वर्षीया पेम्मा आङमो गुरुङको स्वास्थ्य अवस्था गम्भीर बनेपछि उनलाई मंगलबार हेलिकोप्टरमार्फत उद्धार गरी सुर्खेत ल्याइएको प्रमुख जिल्ला अधिकारी जुनु हमालले जानकारी दिइन्।
उपल्लो डोल्पाका बस्तीहरूमा सामान्य स्वास्थ्य उपचार पाउनसमेत सास्ती छ। अझ सडक सञ्जालले नजोडिएका शे–फोक्सुण्डो, डोल्पो बुद्ध र छार्का ताङसोङजस्ता हिमाली स्थानीय तहबाट सदरमुकाम दुनैसम्म पुग्नसमेत कठिन छ। पर्याप्त स्वास्थ्य पूर्वाधार र दक्ष जनशक्तिको अभावका कारण जटिल प्रकृतिका बिरामी तथा गर्भवतीहरूलाई हेलिकोप्टरबाट उद्धार गरी जिल्लाबाहिर लैजानुपर्ने बाध्यता छ।
भौगोलिक विकटता र यातायातको सहज पहुँच नहुँदा बिरामीलाई तत्काल स्वास्थ्य संस्थासम्म पुर्याउन कठिन हुने गरेको छ। विशेषगरी, हिमाली भेगका गर्भवती तथा सुत्केरी महिलाहरू समयमा उपचार नपाउँदा आमा र शिशु दुवैको ज्यान जोखिममा पर्ने गरेको छ। दुर्गम क्षेत्रमा भरपर्दो स्वास्थ्य सुविधा र द्रुत आपत्कालीन उद्धार प्रणाली नहुँदा स्थानीयवासीहरू निरन्तर सास्ती खेप्न बाध्य छन्।
कात्तिक ३, २०८३ मंगलबार १५:३५:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।