परम्परागत सीपको व्यावसायिक रूप : दुनाटपरीबाटै आत्मनिर्भर बन्दै तानसेनका महिला

परम्परागत सीपको व्यावसायिक रूप : दुनाटपरीबाटै आत्मनिर्भर बन्दै तानसेनका महिला

पाल्पा : वनमा त्यसै खेर गइरहेका सालका पात उपयोग गरेर पाल्पाको तानसेन नगरपालिका–२ का सात जना महिलाले दुनाटपरी उद्योग सञ्चालनमा ल्याएका छन्। चार लाख रुपैयाँको लगानीमा सुरु गरिएको ‘दिदीबहिनी कुटिर उद्योग’ मार्फत परम्परागत सीपलाई आधुनिक प्रविधिसँग जोडेर व्यावसायिक रूप दिइएपछि स्थानीय महिलाहरूका लागि रोजगारी र आम्दानीको नयाँ बाटो खुलेको छ।

उद्योगकी अध्यक्ष कल्पना पौडेलका अनुसार यस उद्योगबाट दैनिक एक हजार वटासम्म दुनाटपरी उत्पादन भइरहेको छ भने मासिक २५ हजारदेखि ३० हजार रुपैयाँसम्म आम्दानी हुने गरेको छ। घरमा खाली समय बिताउने महिलाहरू भेला भएर सामूहिक रूपमा काम गर्दा एकातिर सीप आदानप्रदान भएको छ भने अर्कोतिर एक जनाले मासिक ५ हजार रुपैयाँसम्म कमाएर घरखर्च चलाउन सहयोग पुगेको छ। मेसिनबाट बनाइएका दुनाटपरी हातले बुनेका भन्दा बढी आकर्षक र बलिया हुनुका साथै यसले भोजभतेरमा प्रयोग हुने प्लास्टिकका प्लेटलाई प्रतिस्थापन गरी वातावरण संरक्षणमा समेत मद्दत पुर्याएको उनले बताइन्। 

“दुनाटपरी उत्पादनले महिलालाई आम्दानीको अवसर दिएको छ। यसले भोजभतेरमा प्रयोग हुने प्लास्टिकका प्लेटलाई प्रतिस्थापन गर्न पनि सहयोग पुर्याएको छ,” उनले भनिन्।

गाउँका वनमा सालका रूख प्रशस्त भए पनि पात संकलन गर्ने जनशक्ति अभाव हुँदा मागअनुसार उत्पादन गर्न कठिन भइरहेको पौडेलले बताइन्। पात संकलन गरेर मात्रै पनि दैनिक पाँच सयदेखि एक हजारसम्म कमाउन सकिन्छ।

“लाफा बनाउने र टपरी उत्पादन गर्ने कामबाट पनि राम्रै आम्दानी भइरहेको छ। घरमा त्यसै बसेर समय खेर फाल्नुभन्दा दुनाटपरी बनाएर बिक्री गर्दा घरखर्च चलाउन सहयोग पुगेको छ,” पौडेलले भनिन्।

उत्पादित दुनाटपरी स्थानीय बजारका चाट तथा पूजासामग्री पसलहरूका साथै बाहिरी जिल्लाहरूमा समेत बिक्री भइरहेको सञ्चालक मञ्जु रेग्मीले जानकारी दिइन्। उद्योगले साना दुना खुद्रामा प्रतिगोटा दुई रुपैयाँ, चारकुने टपरी सात रुपैयाँ र लाफा १३ रुपैयाँमा बिक्री गर्दै आएको छ। बजारमा माग उच्च रहेपनि गाउँका वनमा सालका रूख प्रशस्त हुँदाहुँदै पनि पात संकलन गर्ने जनशक्तिको अभाव र मेसिनको कमीले गर्दा मागअनुसार उत्पादन गर्न कठिनाइ भइरहेको उद्यमीहरूको भनाइ छ।

उद्योगकी सचिव कल्पना पोखरेल खनालले वडा कार्यालयबाट एउटा मेसिन सहयोग प्राप्त भए पनि बजारको मागअनुसार उत्पादन बढाउन थप सहयोग आवश्यक रहेको बताइन्। स्थानीय सरकारले थप मेसिन उपलब्ध गराउनुका साथै कच्चा पदार्थ व्यवस्थापनमा सहयोग गरे उद्योग विस्तार गर्न सहज हुने उनको भनाइ छ।

“पहिले घरमा बसेर दिन बित्थ्यो, अहिले दिदीबहिनीहरू भेला भएर काम गर्दा आम्दानी पनि भएको छ। वनमा खेर जाने पात र खाली समयको सदुपयोग गरेर एक जनाले मासिक पाँच हजारसम्म कमाउने गरेका छन्,” खनालले भनिन्।

विवाह, व्रतबन्ध, पूजापाठ, धार्मिक अनुष्ठान तथा भोजभतेरमा दुनाटपरीको प्रयोग हुँदै आएको छ। दुनाटपरी उत्पादनबाट परम्परागत सीप र संस्कृतिको संरक्षणका साथै स्थानीयस्तरमा रोजगारी र आम्दानीका अवसर सिर्जना गर्न मद्दत पुगेको छ।

कात्तिक २, २०८३ सोमबार १४:२६:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।