नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
काठमाडौं : नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) प्रायोजन गर्ने भएको छ।
टेलिकमका प्रबन्ध निर्देशक सङ्गीता पहाडी र क्रिकेट एसोसिएसन नेपाल (क्यान)का महाप्रबन्धक उत्सव ढुङ्गानाले आज सोसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।
सम्झौतापछि बोल्दै प्रमुख प्राविधिक अधिकृत डिल्लीराम अधिकारीले राष्ट्रियस्तरको क्रिकेट प्रतियोगितामा कम्पनीले पहिलेदेखि नै सहयोग गर्दै आएको स्मरण गर्दै देशमा क्रिकेको संस्थागत विकासमा यसबाट योगदान पुग्ने विश्वास व्यक्त गरे।
अधिकारीका अनुसार नेपाल टेलिकमले यसअघि पनि विभिन्न चरणमा नेपाल क्रिकेट संघ (क्यान) तथा संघले आयोजना गर्ने क्रिकेट प्रतियोगितामा प्रायोजन गर्दै आएको छ।
यसअघि क्लबस्तरमा केन्द्रित रहेको सहभागिता यसपटक भने राष्ट्रियस्तरमा व्यावसायिक साझेदारका रूपमा विस्तार गरिएको उनले बताए। दूरसञ्चार सेवा प्रदायकका रूपमा एनपीएलमा विशेष सहभागिता जनाउन पाउनु कम्पनीका लागि महत्त्वपूर्ण अवसर भएको उनको भनाइ छ।
उनले भने, ‘नेपाल टेलिकमले यसअघि पनि नेपाल क्रिकेट संघ र यसले आयोजना गर्ने विभिन्न क्रिकेट प्रतियोगितामा प्रायोजन गर्दै आएको छ। यसपटक भने राष्ट्रियस्तरमा दूरसञ्चार सेवा प्रदायकका रूपमा व्यावसायिक साझेदार बनेर एनपीएलमा सहभागी हुन लागेका छौँ। यसको मुख्य उद्देश्य कम्पनीको ब्रान्ड प्रवर्धन गर्नुका साथै नेपालमा लोकप्रिय हुँदै गएको क्रिकेटको संस्थागत विकास र नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन सहयोग गर्नु हो।’
उनले एनपीएलको प्रायोजनलाई व्यावसायिक प्रवर्धनमा मात्र सीमित नभई संस्थागत सामाजिक उत्तरदायित्वसँग जोडेर समेत हेरिएको बताए।
यही कात्तिक ९ देखि आगामी मङ्सिर ५ गतेसम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा एनपिएल हुँदैछ।
कात्तिक १, २०८३ आइतबार १५:१८:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।