करदाता प्रोत्साहन कार्यक्रम : ३ हजारको सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख रुपैयाँ
काठमाडौं : सरकारको करदाता प्रोत्साहन उपहार कार्यक्रम अन्तर्गत नुवाकोटकी सन्तमाया तामाङले १० लाख रुपैयाँ जितेकी छन् ।
नुवाकोटको एस.एस. फेन्सी हाउसबाट ३ हजार रुपैयाँको सामान किनेकी तामाङको कुपन नम्बर ०८१६३२५१५८४९ गोलाप्रथा प्रणालीमार्फत बम्पर उपहारका लागि छनोट भएको हो।
आन्तरिक राजस्व विभागले काठमाडौंको न्युरोडस्थित विशालबजार परिसरमा आइतबार आयोजना गरेको असोज महिनाको दोस्रो पाक्षिक पुरस्कार घोषणा कार्यक्रममा विजेताको नाम सार्वजनिक गरिएको हो।
कार्यक्रममा कलाकारद्वय दीपकराज गिरी र दीपाश्री निरौलाले कम्प्युटर प्रणालीको बटन थिचेर बम्पर तथा दैनिक विजेताहरूको घोषणा गरेका थिए। बम्पर पुरस्कार विजेता घोषणा भएलगत्तै उनीहरूले कार्यक्रमस्थलबाटै तामाङलाई फोन गरेर १० लाख रुपैयाँ जितेको जानकारी गराएका थिए।
करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत गत असोज १६ देखि ३१ गतेसम्मका १६ जना पाक्षिक उपहार विजेता र बम्पर उपहार विजेता घोषणा गरिएको हो।
त्यसैगरी, कुपन नम्बर ०८८७९०१७०, ०९३८९८३१४८६८, ०८०१६२९७६९३४, ०८२८०८९७६३७२, ०८७६५१६९००५३, ०८९६९१८५५६७०, ०८१६०२३५५६४४, ०९०५७४८२३८५०, ०७८२२४८५८६८८, ०८६६२३०९९५१५, ०९२१५६३४५१४२, ०८५२९९४४०३१२, ०८९८६५३१०७२९, ०८४०८६००४००१, ०९१०१५६२६२४९ र ०८३६८९६७६१५३ ले जनही एक लाख ३३ हजार ३३४ प्राप्त गरेका छन्।
सरकारले बिलबिजक लिनेदिने संस्कृतिलाई प्रवर्धन गर्दै आर्थिक कारोबारलाई पारदर्शी बनाउने उद्देश्यले करदाता प्रोत्साहन उपहार कार्यक्रम सुरु गरेको हो। एक सय रुपैयाँभन्दा बढीका वस्तु तथा सेवा खरिद गर्ने उपभोक्ता यो कार्यक्रममा सहभागी हुनसक्ने व्यवस्था छ।
कात्तिक १, २०८३ आइतबार १४:०४:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।