जुम्लामा पाइपजस्तो वस्तु काट्ने क्रममा विस्फोट, १४ वर्षीय बालक गम्भीर घाइते
जुम्ला : जुम्लाको हिमा गाउँपालिका-२, ओदीमा पाइपजस्तो वस्तु काट्ने क्रममा विस्फोट हुँदा १४ वर्षीय बालक गम्भीर घाइते भएका छन् भने अर्का एक जना सामान्य घाइते भएका छन्।
हिमा गाउँपालिका २ का वडाध्यक्ष हरिबहादुर रोकायाका अनुसार स्थानीय कमल थापाको घरमा पानीको धारा निर्माण गर्ने क्रममा पुरानो जीआई पाइपजस्तो वस्तु ग्राइन्डरले काट्दा विस्फोट भएको हो।
विस्फोटमा परी स्थानीय ज्योति रोकायाका १४ वर्षीय छोरा बल बहादुर रोकाया गम्भीर घाइते भएका छन्। विस्फोटका कारण बालकको खुट्टामा गम्भीर चोट लागेको छ। घटनामा कमल थापा पनि सामान्य घाइते भएका छन्।
वडाध्यक्ष रोकायाका अनुसार उक्त पाइपभित्र बारुद तथा गोलीका छर्राजस्तै वस्तु भरिएको आशङ्का गरिएको छ। द्वन्द्वकालमा कमल थापाको घरमा तत्कालीन माओवादीहरू बसेकाले सोही समयमा छाडिएको पुरानो विस्फोटक पदार्थ (पाइप बम) हुन सक्ने अनुमान गरिएको छ।
यद्यपि, पाइपभित्र कस्तो प्रकारको पदार्थ थियो र विस्फोटको वास्तविक कारण के हो भन्नेबारे आधिकारिक पुष्टि हुन बाँकी छ। घटनाको सत्यतथ्य पत्ता लगाउन प्रहरी टोली घटनास्थलमा पुगेर मुचुल्का उठाउने तथा थप अनुसन्धान अघि बढाउने काम गरिरहेको छ।
कात्तिक २, २०८३ सोमबार १५:३७:५६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।