दशैँमा यात्रुलाई राहत : काठमाडौं उपत्यकामा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा सुरु
काठमाडौं : वडादशैँका अवसरमा सर्वसाधारणको सहज आवतजावतका लागि सशस्त्र प्रहरी बलले काठमाडौं उपत्यकाभित्र निःशुल्क बस सेवा सञ्चालनमा ल्याएको छ।
चाडपर्वका बेला सार्वजनिक यातायातका साधन कम चल्ने भएकाले यात्रुहरूलाई पर्न सक्ने सास्तीलाई ध्यानमा राख्दै दुई वटा बस निःशुल्क रूपमा सञ्चालनमा ल्याइएको सशस्त्र प्रहरी नायव महानिरीक्षक तथा प्रवक्ता नेत्रबहादुर कार्कीले जानकारी दिए।
प्रवक्ता कार्कीका अनुसार यो सेवा आजदेखि लगातार तीन दिनसम्म बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म सञ्चालन हुनेछ।
काठमाडौं उपत्यकामा सञ्चालन गरिने बसहरूमध्ये सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयबाट निस्कने एउटा बसले बालाजु, नयाँ बसपार्क, कोटेश्वर,सातदोबाटो बल्खु हुँदै विभिन्न ठाउँका स्थानीय यात्रुहरूलाई सेवा प्रदान गर्नेछ।
यसैगरी सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयबाटै निस्कने अर्को बसले सितापाइला, कलङ्की, बल्खु, कोटेश्वर,नयाँ बसपार्क,हुँदै विभिन्न ठाउँका यात्रुहरूलाई निःशुल्क सेवा प्रदान गर्नेछ।
कात्तिक २, २०८३ सोमबार १३:२३:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।