दशैंमा स्वस्थ खसी छान्ने सजिलो उपाय- सिङको रङ

दशैंमा स्वस्थ खसी छान्ने सजिलो उपाय- सिङको रङ

काठमाडौं : दशैंमा खसी, बोका, च्याङ्ग्रा, राँगा, भैँसी, सुँगुर, बंगुर, कुखुरा र माछाको उपभोग बढ्छ। उत्सवमा खाइने यही मासु अस्वस्थ भए रोगको जोखिम पनि उत्तिकै हुन्छ। त्यसैले स्वस्थ पशुपक्षीको मासु मात्र खान चिकित्सकहरूले सुझाव दिएका छन्।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका रिसर्च युनिट संयोजक डा. शेर बहादुर पुनका अनुसार करिब ७० प्रतिशत जुनोटिक अर्थात् पशुबाट मानिसमा सर्ने रोग अस्वस्थ जनावरबाट सर्छन्।

कुखुरालगायत पक्षीबाट बर्डफ्लु सर्न सक्छ। खसी, बोका, राँगाभैँसी र सुँगुरबंगुरजस्ता पशुबाट विभिन्न परजीवीजन्य रोगको जोखिम हुन्छ। त्यसैले मासु किन्दा स्वस्थ हो-होइन भनेर पुष्टि गर्नुपर्ने उनको भनाइ छ।

परजीवी विज्ञ समेत रहेका आयुर्वेद चिकित्सक डा. प्रकाश ज्ञवालीका अनुसार अस्वस्थ पशुको आन्द्रा र कलेजोमा जुका वर्गका परजीवी हुन सक्छन्। यस्तो मासु राम्ररी नपाकी खाँदा परजीवीका फुल मानिसको मस्तिष्कसम्म पुगेर गम्भीर रोग लाग्ने जोखिम रहन्छ।

यस्ता जीवाणु राम्ररी पकाउँदा मर्ने भएकाले मासु राम्ररी पकाएर मात्र खान डा. पुनले सुझाव दिएका छन्। पोलेको मासु बाहिरबाट पाकेको देखिए पनि भित्र काँचै हुन सक्छ। यसले अल्सर, क्यान्सर र परजीवीजन्य समस्या निम्त्याउन सक्ने भएकाले पोलेको मासु नखानु उचित हुने डा. ज्ञवालीको सुझाव छ।

सिङको रङले चिनाउँछ स्वस्थ पशु
दशैंको समयमा पशु सेवा विभागले बजारमै पुगेर खसी, बोका, च्याङ्ग्रा र राँगाभैँसीजस्ता पशुको स्वास्थ्य परीक्षण गर्छ। स्वस्थ पशुको सिङमा हरियो र अस्वस्थ पशुको सिङमा रातो रङ लगाइन्छ। रातो रङ लगाइएका पशु बिक्री गर्न पाइँदैन। त्यसैले हरियो रङ लगाएका पशु खरिद गर्न विभागले अनुरोध गरेको छ।

विभागका वरिष्ठ पशु चिकित्सक तथा भेटेरिनरी जनस्वास्थ्यविद् डा. मुकुल उपाध्यायले उकेरासँग भने, ‘स्वस्थ छ भने सिङमा हरियो रङ लगाइन्छ, अस्वस्थ छ भने रातो।’ उनका अनुसार रङ नलगाइएको भए पनि पशु स्वस्थ देखिएमा खरिद गर्न सकिन्छ।

पशु स्वस्थ छ कि छैन भनेर घरमै पनि हेर्न सकिन्छ। आँखा चम्किला नदेखिएका, रौँ सफा नभएका, पुच्छरमा दिसा लागेका, झोक्राएका र जुङ्गुरिएका पशु किन्नु हुँदैन। फुर्तिला र हेर्दै सलक्क परेका खसी, बोका र च्याङ्ग्रा किन्नुपर्छ।

अनुगमनका क्रममा शंका लागेमा थर्मोमिटरले ज्वरो नापेर स्वास्थ्य एकिन गरिन्छ। ‘हामीले मुख्य हेर्ने नै ज्वरो हो’, डा. उपाध्यायले भने। अस्वस्थ देखिएका पशुको नमुना सङ्कलन गरी प्रयोगशालामा परीक्षण पनि गरिन्छ।

तीन दिनमा साढे ६ हजार पशुको परीक्षण
विभागका अनुसार २०८३ असोज २५ देखि २७ गतेसम्म तीन दिनमा काठमाडौं उपत्यकाका दश ठाउँमा ६ हजार ७ सय २९ पशुको स्वास्थ्य परीक्षण गरियो।

यसमा ४ हजार १६३ खसी, ४५३ बोका, ३२६ बाख्रा, १,५०५ च्याङ्ग्रा, १८७ भेडा र ९५ सिन्हाल थिए। ठूला जातका ९९ पशुको पनि परीक्षण भयो। यसमा ५३ राँगा, ३४ भैँसी र १२ पाडा थिए।

साथै ४० हजार ३ सय १३ किलो माछा, ८ सय १२ किलो समुद्री खाना (सी फुड), ३ सय ६३ घोगी र ७८ क्र्याबको पनि परीक्षण भएको छ।

कुखुरा, सुँगुर र बंगुरको पनि नियमित परीक्षण हुने विभागले जनाएको छ। तर परीक्षण गरिएकामध्ये कति पशु अस्वस्थ भेटिए भन्ने विवरण भने विभागले सार्वजनिक गरेको छैन।

कहाँ-कहाँ अनुगमन?
विभागले सबै ठाउँमा अनुगमन गर्दैन। काठमाडौं उपत्यकाका मुख्य दश बजार र नाकामा दश टोली खटाइएका छन्।

यसमा कलंकी खसी बजार, टुकुचा खसी बजार, लोकन्थली खसी बजार, बालाजु बाइपास खसी बजार, सल्लाघारी च्याङ्ग्रा बजार, चोभार र चाल्नाखेलको राँगा बजार तथा बल्खु र कालिमाटीको माछा बजार छन्।

चन्द्रागिरी (थानकोट), दाउरा डिपो (दहचोक) र धापाखेल, चापागाउँ (ललितपुर), टोखा, कपन र सुकेधारा पनि यसमा पर्छन्।

विभागले प्रदेश र स्थानीय तहसँगको समन्वयमा ‘चाडपर्व लक्षित पशुपन्छी बजार नाका अनुगमन तथा स्वास्थ्य परीक्षण कार्ययोजना, २०८३’ बनाएको छ। यसअनुसार असोज २५ देखि कात्तिक ३ गतेसम्म दश दिन अनुगमन हुन्छ।

टोली बिहान ७ देखि १० बजेसम्म र दिउँसो २ देखि ५ बजेसम्म खटिन्छ। प्रत्येक टोलीमा सम्बन्धित स्थानीय तह वा प्रदेशका पशु सेवा कार्यालयबाट कम्तीमा एक जना कर्मचारी हुन्छन्। टोली संयोजकले हरेक साँझ विवरण विभागको पशु क्वारेन्टाइन महाशाखामा बुझाउँछन्।

उपत्यकामा माछामासुको खपत धेरै हुने भएकाले अस्वस्थ मासु भित्रिने र कालोबजारीको जोखिम बढी हुने डा. उपाध्यायले बताए। त्यसैले उपत्यकालाई प्राथमिकतामा राखेर अनुगमन गरिएको हो।

मासु काट्ने ठाउँमा सरसफाइ नभए पनि मासु बिग्रन सक्छ। काटेकै ठाउँमा मासु बनाउँदा गोबर मिसिने जोखिम पनि हुन्छ। त्यसैले मासु काट्ने बेला विशेष ध्यान दिन उनले सुझाव दिए।

असोज ३१, २०८३ शनिबार २१:१२:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।