टुँडिखेलमा असहज देखिए प्रधानमन्त्री वालेन्द्र, देखिइनन् श्रीमती सविना
काठमाडौं : हरेक वर्ष फूलपाती दिन काठमाडौंस्थित सैनिक मञ्च टुँडिखेलमा सेनाले फूलपाती बढाइँ समारोह आयोजना गर्दा मुख्य अतिथि हुन्छन् राष्ट्रपति, उपराष्ट्रपति अनि प्रधानमन्त्री।
२०८३ मा पनि उनीहरू नै कार्यक्रमको मुख्य अतिथि थिए। कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादवसँगै प्रधानमन्त्री वालेन्द्र शाह पनि सहभागी थिए। प्रधानमन्त्री शाह प्राय यस्तो समारोहमा श्रीमती सविना काफ्लेसहित सहभागी हुने भए पनि शनिवारको समारोहमा उनी एक्लै सहभागी भएका थिए।
प्रधानन्यायाधीश डा. मनोज शर्मा, प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रीहरू, सांसदहरू, संवैधानिक निकायका प्रमुख, नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, उच्चपदस्थ सरकारी कर्मचारी र समाजका विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति रहेको कार्यक्रममा प्रधानमन्त्री वालेन्द्र त्यति सहज देखिएका थिएनन्।
नेपाली सेनाद्वारा आयोजित समारोहमा राष्ट्रपति पौडेललाई नेपाली सेनाले सलामी अर्पण गर्यो। समारोहका क्रममा सैनिक हेलिकप्टरबाट पुष्पवृष्टि गरियो। नेपाली सेनाले विभिन्न सैनिक परेड तथा राइफलबाट बढाइँका साथै तोपबाट समेत बढाइँ प्रस्तुत गरिएको थियो।

असोज ३१, २०८३ शनिबार २०:४०:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।