विपद्का कारण तीन जिल्लाका राजमार्ग अवरुद्ध

विपद्का कारण तीन जिल्लाका राजमार्ग अवरुद्ध
फाइल तस्बिर

काठमाडौं : वर्षा तथा प्राकृतिक विपद्का कारण गण्डकी र कर्णाली प्रदेशका तीन जिल्लामा मुख्य राजमार्ग अवरुद्ध भएका छन्। नेपाल प्रहरीका अनुसार म्याग्दी, गोरखा र सुर्खेतका विभिन्न स्थानमा पहिरो तथा बाढीका कारण सडक अवरुद्ध भएका हुन्।

म्याग्दीको रघुगङ्गा गाउँपालिका-२ बैसरीमा पहिरो खस्दा बेनी-जोमसोम सडकखण्ड एकतर्फी सञ्चालनमा रहेको छ। उक्त स्थानमा असोज १ गते बिहान ५:५० बजेदेखि सडक प्रभावित भएको हो।

गोरखाको आरुघाट गाउँपालिका-२ र ३ तथा आरुघाट गाउँपालिका-१ नयाँपुल क्षेत्रमा बाढीका कारण सडक अवरुद्ध भएको छ। सो क्षेत्रमा रहेको फलामे पुलमा समस्या आएपछि आरुघाटबाट धादिङ जोड्ने सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ। उक्त सडक आज बिहान ५:३० बजेदेखि अवरुद्ध छ।

यसैगरी, सुर्खेतको बराहताल गाउँपालिका-७ औलिसेमा पहिरो खस्दा कर्णाली राजमार्ग एकतर्फी सञ्चालनमा रहेको छ। उक्त स्थानमा कात्तिक १ गते बिहान ५:४५ बजेदेखि सडक प्रभावित भएको हो।

प्रहरीले अवरुद्ध सडक खुलाउने र यातायात सञ्चालन सहज बनाउने प्रयास भइरहेको जनाएको छ। सडकको अवस्थालाई ध्यानमा राख्दै यात्रु तथा सवारी चालकलाई सतर्कता अपनाउन आग्रह गरिएको छ।

कात्तिक २, २०८३ सोमबार ११:००:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।