चाडपर्वको बेलामा चितवन निकुञ्जमा स्पाई क्यामेरा र तालिमप्राप्त कुकुरद्वारा निगरानी
चितवन : चाडपर्वको समयमा हुने वन्यजन्तुको चोरी-सिकारी रोक्न चितवन राष्ट्रिय निकुञ्जले विशेष सुरक्षा रणनीति तयार गरेको छ। रणनीतिअनुसार निकुञ्ज प्रशासन र निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना गरी एक हजार दुई सय बढी जनशक्ति परिचालन गरिने छ।
निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार चाडपर्वमा अपरिचित व्यक्तिहरूको चहलपहल बढी हुने हुँदा चोरी शिकारी हुन सक्ने भएकाले सुरक्षा रणनीतिका साथ उच्च सतर्कता अपनाइएको हो।
उनले भने, “अहिले संवेदनशील क्षेत्रहरूमा ३५ ‘स्पाई क्यामेरा’ जडान गरेर सुरक्षा दिइएको छ।” चोरी शिकारीका हिसाबले जोखिम रहेका क्षेत्रहरूमा स्पाई क्यामेरा सहित क्याम्पिङ् एण्ड एम्बुसिङ् लगायतका कामहरू गरिने उनले जानकारी दिए।
सूचना अधिकारी मगरका अनुसार विगतमा हुने गरेका नियमित गस्ती सहित स्विपिङ्, पट्रोलीङ्, साइकल गस्ती, मोटरसाइकल गस्ती, बोट, गाडी र हात्तीबाट गस्ती गरिने छ। चार्डपर्वको समयमा निकुञ्ज आसपासमा बसोबास गर्ने स्थानीय पर्व मनाउन लाग्ने भएकाले चोरी शिकारीका बढी संवेदनशील मानिने गरिन्छ।
संवेदनशील क्षेत्रहरूमा ‘लिङ्क पट्रोलीङ्’ लगायतका कामहरू भइरहेको छ। चुरे क्षेत्रमा समेत चोरी शिकारी हुन सक्ने भएकाले सो क्षेत्रलाई समेत मध्यनजर गर्दै सुरक्षा व्यवस्था मिलाइएको छ।
निकुञ्ज क्षेत्रभित्र ५७ स्थायी पोष्ट र ३ अस्थायी पोष्टहरुबाट सुरक्षा दिने काम भइरहेको छ। यसलाई अझै चुस्त बनाउँदै स्थानीय सँगको साझेदारीमा निकुञ्ज सुरक्षा गरिने छ। शंकास्पद स्थानहरूमा तालिम प्राप्त कुकुर (स्निफर डग) मार्फत निगरानी गरिने छ।
आवश्यकता अनुसार अन्य सुरक्षा निकाय सँग समेत समन्वय गरेर निकुञ्ज क्षेत्रमा रहेका बस्तीहरूमा समेत तदारुकता बढाइएको उनले जानकारी दिए।
कात्तिक २, २०८३ सोमबार ०८:५६:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।