मधेस सरकारबाट बाहिरियो एमाले, चार मन्त्रीले बुझाए राजीनामा

मधेस सरकारबाट बाहिरियो एमाले, चार मन्त्रीले बुझाए राजीनामा

जनकपुरधाम : सरकार गठनका बेला भएको सहमति कार्यान्वयन नभएको भन्दै मधेस प्रदेश सरकारमा सहभागी एमालेका चारै जना मन्त्रीले पदबाट राजीनामा दिएका छन्।

पार्टी संसदीय दलको निर्देशनअनुसार एमालेबाट मन्त्री भएका श्रम तथा यातायातमन्त्री शारदादेवी थापा, खेलकुद तथा समाजकल्याणमन्त्री लखनदास, भौतिक पूर्वाधार विकासमन्त्री मोहम्मद समीर र शिक्षा तथा संस्कृतिमन्त्री मनोजकुमार सिंहले शुक्रबार राजीनामा दिएका हुन्।

चारै जना मन्त्रीले मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई राजीनामा पत्र बुझाएको एमालेका प्रमुख सचेतक हरिनारायण महतोले जानकारी दिए। मधेस प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवको नेतृत्वमा कांग्रेस, एमाले र नेपाली कम्युनिष्ट पार्टीको गठबन्धनको सरकार छ।

एमाले मधेस प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवले सरकार गठनको क्रममा भएको सहमति सरकारले कार्यान्वयन नगरेकाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताए। 

असोज ३०, २०८३ शुक्रबार १६:१९:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।