कांग्रेसको बहिष्कारबीच सुदूरपश्चिममा बजेटमाथि छलफल
सुदूरपश्चिम : सुदूरपश्चिम प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बैठक बहिष्कार गरे पनि आर्थिक वर्ष २०८३/८४ को बजेटमाथिको छलफल अघि बढाइएको छ।
मंगलबार बसेको प्रदेशसभा बैठकमा बजेटमाथिको छलफल सुरु भएको हो। प्रदेशसभा संसदीय दलको आजै बसेको बैठकले प्रदेशसभा बैठक बहिष्कार गर्ने निर्णय गरेको थियो।
बजेट उपयुक्त नभएको र सरकारले प्रतिपक्षीसँग आवश्यक समन्वय नगरेको भन्दै बैठक बहिष्कार गर्ने निर्णय गरिएको नेपाली कांग्रेस संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाहले बताए। उनले मंगलबारदेखि प्रदेशसभाका सबै बैठकमा सहभागी नहुने जानकारी दिए।
यसैबीच, बजेट विवाद समाधान गर्न सत्तारूढ नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले बजेट संशोधन तथा विवादित विषयमा छानबिन गर्ने निर्णय गरेको छ। संसदीय छानबिन समिति गठन गर्ने र कात्तिक १५ गतेभित्र पूरक बजेट ल्याउने सहमति भएको जनाइएको छ। सोहीअनुसार तत्काल बजेट पारित गर्ने गरी प्रक्रिया अघि बढाइएको छ।
आइतबार आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले प्रदेशसभामा ३७ अर्ब ७० करोडको बजेट प्रस्तुत गरेका थिए। बजेटमाथिको छलफल सुरु हुनुअघि नै विवाद चर्किएपछि प्रदेशसभा बैठक प्रभावित भएको थियो।
बजेट विवादकै कारण यसअघि निवर्तमान मुख्यमन्त्री शाह नेतृत्वको सरकार विघटन भएको थियो। त्यसयता प्रदेशमा बजेट शून्यताको अवस्था छ। आइतबार प्रस्तुत बजेटलाई लिएर सत्तारूढ दलभित्रै पनि विवाद छ।
असोज २७, २०८३ मंगलबार १९:५७:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।