तातोपानी नाका तीन दिनका लागि खुल्यो, नियमित सञ्चालन गर्न व्यवसायीको माग

तातोपानी नाका तीन दिनका लागि खुल्यो, नियमित सञ्चालन गर्न व्यवसायीको माग

काठमाडौं : सिन्धुपाल्चोकस्थित नेपाल–चीन सीमाको तातोपानी नाका कात्तिक १ देखि ३ गतेसम्म तीन दिनका लागि सञ्चालनमा आएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जारी गरेको प्रेस नोट अनुसार यस अवधिमा मालवाहक सवारीसाधनहरूलाई मात्र आवतजावतको अनुमति दिइएको छ।

तर नेपाल हिमालय सीमापार बाणिज्य संघले चाडपर्व लक्षित व्यापारका लागि तातोपानी–खासा नाका तत्काल पुनः सञ्चालन गर्न माग गरेको छ।

संघका महासचिव रामचन्द्र पराजुलीले काठमाडौंस्थित चिनियाँ दूतावासलाई ध्यानाकर्षण पत्र बुझाउँदै चाडपर्व लक्षित व्यापारका लागि नाका सहज र नियमित बनाउन आग्रह गरेको बताए। "नेपालस्थित चिनिया दूताबासलाई ध्यानाकर्षण पत्र नै बुझाएर संचालनको माग राखेका" उनले भने।

पराजुलीका अनुसार नाका बन्द हुँदा चीनबाट आयात गरिएका सामान बोकेका सयौँ कन्टेनरहरू नेपाल र चीनतर्फ सीमा क्षेत्रमै रोकिएका छन्। 

अविरल वर्षा र बाढीपहिरोका कारण अन्य स्थलमार्गहरू अवरुद्ध भएको अवस्थामा दशैँ–तिहार जस्ता प्रमुख चाडपर्वका लागि तातोपानी नाका नै सबैभन्दा व्यावहारिक र प्रभावकारी मार्ग हो। सीमा क्षेत्रमा रोकिएका कन्टेनरहरूमा खाद्यान्न, कृषिजन्य, र मौसमी व्यापारिक सामग्रीहरू रहेकाले ती सामान बिग्रिने जोखिम उच्च छ। यसले साना व्यवसायीलाई गम्भीर आर्थिक क्षति पुर्याउनुका साथै नेपाली बजारमा उपभोग्य वस्तुको अभाव सिर्जना गर्ने अवस्था उत्पन्न गराएकाले नाका सुचारु गराउन माग गरिएको पराजुलीले जानकारी दिए।

नेपाली पक्षका सम्बन्धित सडक निकायहरू तथा स्थानीय सरोकारवालाहरूले सडकमा रहेका अवरोधहरू हटाई सुरक्षित आवागमन पुनःस्थापना गरिसकेको जानकारी दिंदै उनले भन्सार जाँचपास तथा सवारीसाधनको आवागमनका लागि सडक पूर्ण रूपमा सञ्चालनयोग्य भएको पनि बताए।

गत भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण सुवा र नुवाकोटका विभिन्न बस्तीमा क्षति पुर्याएपछि चिनियाँ पक्षले भदौ १५ गतेदेखि अर्को सूचना नभएसम्मका लागि तातोपानी नाका पूर्ण रूपमा बन्द गरेको थियो।

कात्तिक १, २०८३ आइतबार १४:२४:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।