दशैँमा मन्द हुँदै गएको ‘चचहुइँ…सररर…'
काठमाडौं : वर्षमा एक पटक भए पनि भुईँ छाड्नुपर्छ भन्ने लोकविश्वास बोकेका परम्परागत पिङहरू आधुनिकता, प्रविधि र युवा पलायनका कारण पातलो बन्दै गएका छन्। शहरका टोलैपिच्छे हुने पिङ सार्वजनिक ठाउँको अभावमा दुर्लभ बनिसकेको छ। गाउँमा पिङ त देखिन्छ तर रौनक पातलो।
कुनै समय काठका रोटेपिङ र बाबियोको लठारोबाट बन्ने लिङ्गेपिङ दशैँमा रमाइलोको पर्याय थिए। गाउँ-घरका चौतारी र डाँडाहरूमा राखिने रोटेपिङ त दुर्लभै भइसके। बाँस गाडेर बनाइने लिङे पिङको संख्या पनि उस्तो बाक्लो देखिन्न। कतै पिङ छैन, जहाँ पिङ छ त्यहाँ पिङको मच्च्याइसँगै सुनिने सररर चचहुइँका आवाज पातलो छ।
आधुनिक प्रविधिको विकास, युवापुस्ताको वैदेशिक पलायन र खुला ठाउँको अभावका कारण हाम्रा मौलिक पिङहरू हराउँदैछन्।
पिङ केवल दशैँको रमाइलो गर्ने साधन मात्र होइन, यो हाम्रो सामाजिक सम्बन्ध सुदृढ बनाउने र पुस्तान्तरण जोड्ने माध्यम पनि हो। स्थानीय तह र समुदायले विशेष पहल गर्ने हो भने हाम्रा यी मौलिक परम्पराहरू लोप हुनबाट जोगिन सक्छन्।
कात्तिक १, २०८३ आइतबार १२:२५:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।