कस्तो रहला आज दिनभरको मौसम ?
काठमाडौं : मौसम पूर्वानुमान महाशाखाले आइतबार देशका उच्च हिमाली भू-भागका साथै कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ।
महाशाखाले आइतबार बिहान जारी गरेको मौसमी बुलेटिनअनुसार देशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ। आइतबार दिउँसो देशभरका हिमाली तथा पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ।
मधेश प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई भेगमा पनि आंशिक बदली रहनेछ। यद्यपि, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागमा भने मौसम सफा रहने जनाइएको छ।
दिउँसो देशको हिमाली भू-भागका साथै कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भेगका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा वा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
यसैगरी, आइतबार राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।
रातिको समयमा कोशी र गण्डकी प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ। यस्तै, तराई भू-भागका केही स्थानमा बिहानपख हुस्सु र कुहिरो लाग्ने पूर्वानुमान महाशाखाले गरेको छ।
कात्तिक १, २०८३ आइतबार ०८:५७:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।