खोटाङ जाँदै गरेको जिप सुनकोशीमा खस्यो, तीन जनाको मृत्यु
काठमाडौं : सिन्धुलीको फिक्कल गाउँपालिका-६ नागथानस्थित मध्यपहाडी लोकमार्गमा आइतबार बिहान जिप सुनकोशी नदीमा खस्दा तीन महिलाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा चालकसहित चार जना घाइते भएका छन् भने अन्य तीन जना नदीमा बेपत्ता छन्।
प्रहरीका अनुसार काठमाडौंबाट खोटाङतर्फ जाँदै गरेको को १ ज २९७६ नम्बरको जिप आइतबार बिहान करिब साढे २ बजे सडकबाट करिब २०० मिटर तल नदीमा खसेको थियो। प्रहरी चौकी रत्नावती र प्रहरी चौकी खाङसाङबाट खटिएको सुरक्षाकर्मीको टोलीले घटनास्थलमा तीन महिलाको शव फेला पारेको छ। मृतक र बेपत्ता व्यक्तिहरूको पहिचान खुल्न बाँकी छ।
दुर्घटनामा घाइते भएका चारै जनालाई उपचारका लागि उदयपुरको घुर्मीस्थित जनसेवा हेल्थ सेन्टरमा लगिएको थियो। त्यहाँ प्राथमिक उपचारपछि उनीहरूलाई थप उपचारका लागि एम्बुलेन्समार्फत सिन्धुली जिल्ला अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ।
घाइते हुनेहरूमा चालक ओखलढुंगाका आशिष बिष्ट, खोटाङको दिक्तेल नगरपालिका-३ का सम्झना राई, उनकी १२ वर्षीया छोरी सिवानी राई र सोही नगरपालिका-१ का अंकित विक रहेको प्रहरीले जनाएको छ।
चालकको भनाइअनुसार जिपमा सवार अन्य तीन जना दुर्घटनापछि नदीमा बेपत्ता भएका छन्। बेपत्ताहरूको खोजीका लागि प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली घटनास्थलमा परिचालन गरिएको छ। दुर्घटनाको यकिन कारण खुल्न सकेको छैन। अहिले घटनास्थलमा बेपत्ताहरूको खोजी, उद्धार तथा थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।
कात्तिक १, २०८३ आइतबार ०७:४५:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।