चीनमा २ हजार गुणा बढी ‘लिड’ मिसाएर बालबालिका बिरामी पार्ने किन्डरगार्टेन सञ्चालकलाई जन्मकैद
एजेन्सी : किन्डरगार्टेनका बालबालिकालाई दिइने खाजामा अखाद्य रङ मिसाएर २०० भन्दा बढी बालबालिकालाई बिरामी बनाएको अभियोगमा चीनमा एक नर्सरी सञ्चालकलाई आजीवन काराबास (जन्मकैद) को सजाय सुनाइएको छ।
चीनको गान्सु प्रान्तस्थित तियानशुई सहरमा रहेको ‘हेशी पेइसिन किन्डरगार्टेन’ की सञ्चालक ली हुईफाङलाई हानिकारक तथा विषाक्त खाना उत्पादन र बिक्री गरेको ठहर गर्दै लान्झाउको अदालतले आजीवन काराबासको फैसला सुनाएको हो।
चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार अदालतले लीको ५ लाख युआन बराबरको व्यक्तिगत सम्पत्ति समेत जफत गर्न आदेश दिएको छ।
उक्त घटनामा संलग्न रहेको ठहर गर्दै किन्डरगार्टेनका कार्यकारी प्रिन्सिपल झी जिंगलिनलाई १५ वर्षको जेल सजाय र ३ लाख युआन जरिवाना तोकिएको छ।
यस्तै, भान्सामा काम गर्ने अन्य चार जना कर्मचारीलाई ६ देखि ८ वर्षसम्मको कैद सजाय सुनाइएको छ। सञ्चालक र प्रिन्सिपलको निर्देशनमा उनीहरूले खानामा अखाद्य पदार्थ मिसाएको अदालतले ठहर गरेको छ।
अनुसन्धान प्रतिवेदनअनुसार बालबालिकालाई आकर्षित गर्न र खाजालाई हेर्दा आकर्षक बनाउन भान्सेहरूले खान नहुने पेन्ट (रङ) प्रयोग गरेका थिए। स्पष्ट रूपमा ‘अखाद्य’ भनी उल्लेख गरिएको औद्योगिक रङ उनीहरूले बालबालिकाको खाजामा मिसाएका हुन्।
उक्त खाजा खाएपछि जुलाई २०२५ मा बालबालिकाहरू धमाधम बिरामी पर्न थालेका थिए। त्यसपछि गरिएको स्वास्थ्य परीक्षणमा २४७ जना बालबालिका तथा कर्मचारीको रगतमा अत्यधिक मात्रामा ‘लिड’ (सिसा) फेला परेको थियो। तीमध्ये २३५ बालबालिकालाई अस्पतालमै भर्ना गरेर ‘लिड प्वाइजनिङ’ को उपचार गर्नुपरेको थियो।
मापदण्डभन्दा २ हजार गुणा बढी विष
ल्याब परीक्षणका क्रममा त्यहाँको खाजामा राष्ट्रिय सुरक्षा मापदण्डभन्दा २ हजार गुणा बढी लिड फेला परेको थियो।
चीनको खाद्य सुरक्षा मापदण्डअनुसार खानामा लिडको मात्रा प्रति किलोग्राम ०.५ मिलिग्रामभन्दा बढी हुनुहुँदैन। तर, नर्सरीको ‘रेड डेट केक’ मा १०५२ मिलिग्राम र ‘कर्न ससेज रोल’ मा १३४० मिलिग्रामसम्म घातक लिड पाइएको थियो।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार सानो उमेरका बालबालिकाका लागि लिड अत्यन्तै घातक हुन्छ। यसले बालबालिकाको मस्तिष्क, स्मरणशक्ति र केन्द्रीय स्नायु प्रणालीमा कहिल्यै निको नहुने गरी गम्भीर क्षति पुर्याउन सक्छ।
घटना ढाकछोप गर्ने प्रयास र नयाँ नियम
अनुसन्धानका क्रममा नर्सरीका लगानीकर्ताबाट घुस लिएर केही स्थानीय सरकारी अधिकारी र अस्पतालका कर्मचारीले रक्त परीक्षणको रिपोर्ट हेरफेर गरी घटना दबाउन खोजेको समेत खुलेको थियो।
यो भयानक घटनापछि चीन सरकारले देशभरका विद्यालय तथा क्याम्पसका खाजासम्बन्धी कडा नयाँ नियम लागू गरेको छ।
अब विद्यालयमा ल्याइने हरेक नयाँ ब्याचको खाजा अनिवार्य परीक्षण गर्नुपर्नेछ भने पिठो, चामल र खानेतेल जस्ता मुख्य खाद्यसामग्री सरकारी मान्यता प्राप्त केन्द्रीय खरिद केन्द्रबाट मात्र किन्नुपर्ने व्यवस्था गरिएको छ।
असोज ३१, २०८३ शनिबार २१:३७:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।