अन्तर्राष्ट्रिय सहायता कटौतीले अफगानिस्तानमा गम्भीर कुपोषण सङ्कट, ५३ लाख महिला र बालबालिका जोखिममा
एजेन्सी : अन्तर्राष्ट्रिय सहायतामा भएको व्यापक कटौती र खाद्यान्नको बढ्दो मूल्यका कारण अफगानिस्तानमा भोकमरी तथा कुपोषण तीव्र रूपमा बढेको छ। बजेट अभावका कारण आगामी वर्ष कुपोषणको उपचार आवश्यक पर्ने अनुमान गरिएका ५३ लाख महिला तथा बालबालिका प्राथमिकतामा पर्न नसक्ने अवस्था सिर्जना भएको छ।
विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) का अफगानिस्तानस्थित देशीय निर्देशक जोन एलिफका अनुसार आगामी केही महिनाभित्रै करिब १ करोड ९० लाख मानिस अर्थात् देशको जनसङ्ख्याको झन्डै ४० प्रतिशतले तीव्र भोकमरीको सामना गर्नुपर्नेछ। सन् २०२२ को तुलनामा आगामी वर्ष ५ वर्षमुनिका बालबालिका र महिलासहित कुपोषणबाट प्रभावित हुनेहरूको सङ्ख्या १३ लाखले वृद्धि हुने अनुमान गरिएको छ। एकीकृत खाद्य सुरक्षा चरण वर्गीकरण (आइपीसी) को तथ्याङ्कले पर्याप्त पोषणको अभावमा शारीरिक विकासका क्रममा रहेका बालबालिका सबैभन्दा बढी जोखिममा परेको देखाएको छ।
चार दशक लामो गृहयुद्ध, छिमेकी मुलुक पाकिस्तान र इरानबाट ५ लाखभन्दा बढी अफगान शरणार्थीको जबर्जस्ती फिर्ती, खडेरी, बाढी र भूकम्पजस्ता प्राकृतिक विपद्ले सङ्कटलाई झनै जटिल बनाएका छन्। मध्यपूर्वको द्वन्द्वका कारण आधारभूत खाद्यवस्तुको मूल्य १० देखि ३० प्रतिशतसम्म बढेपछि विपन्न परिवारहरूलाई खाना जोहो गर्न कठिन परेको छ।
सङ्कटको मुख्य कारक भने सन् २०२१ मा तालिबानले सत्ता कब्जा गरेपछि रोकिएको वैदेशिक सहायता र अमेरिकी सहयोग कटौती हो। डब्लुएफपीले हाल सन् २०२२ मा प्राप्त गरेको बजेटको १२ प्रतिशत मात्र पाएको छ। यसले गर्दा स्वास्थ्य केन्द्रहरूमा उपचारका लागि आउने गम्भीर कुपोषित सातमध्ये छ जना महिला तथा बालबालिकालाई खाना र औषधि दिन नसकी फर्काउनुपर्ने बाध्यता रहेको डब्लुएफपीले जनाएको छ।
"हामीले स्वास्थ्य केन्द्रबाट गम्भीर कुपोषण भएका सातमध्ये छ जना महिला र बालबालिकालाई फर्काउनुपरेको छ। उनीहरूका बालबालिकाको जीवन बचाउन आवश्यक खाना हामीसँग छैन”, एलिफले भने। उनले अफगान बालबालिकाको पीडाप्रति अन्तर्राष्ट्रिय समुदाय पर्याप्त संवेदनशील नभएको भन्दै चिन्ता व्यक्त गरे।
इन्दिरा गान्धी अस्पतालका आन्तरिक चिकित्सा विभाग प्रमुख डा. मोहम्मद आरिफ हसनजाईका अनुसार कहिलेकाहीँ बिरामीको सङ्ख्या शय्याभन्दा बढी हुँदा दुई बालबालिकालाई एउटै शय्यामा राख्नुपर्छ। हालको सहयोगले २० शय्याको गम्भीर कुपोषण उपचार कक्ष मात्र सञ्चालन गर्न सकिएको छ। थप स्रोत उपलब्ध भए ६० देखि १०० जनासम्म बिरामीलाई उपचार दिन सकिने उनले बताए।
“स्वास्थ्य सहायता किन घटाइएको हो भन्नेमा म चिन्तित छु । राजनीतिक अवस्थाका कारण बिरामीले कुपोषण भोग्नुपर्ने र ज्यानसमेत गुमाउनुपर्ने हो?” उनले प्रश्न गर्दै स्वास्थ्य सेवा राजनीतिबाट अलग रहनुपर्ने बताए।
काबुलस्थित इन्दिरा गान्धी बाल स्वास्थ्य संस्थानको कुपोषण उपचार कक्षमा भेटिएकी २५ वर्षीया मलिकाले केही महिनाअघि ५ वर्षीया छोरी खदिजालाई कुपोषणकै कारण गुमाएकी थिइन् भने अहिले ३ वर्षीया कान्छी छोरी कलसौमलाई बचाउन सङ्घर्ष गरिरहेकी छन्। दुवै छोरीका हातखुट्टा पातला भए पनि हात, खुट्टा र पेट सुन्निएका थिए र यो शरीरमा प्रोटिनको गम्भीर कमीका लक्षण हुन्।
“म कान्छी छोरीको जीवनलाई लिएर चिन्तित छु। उनको पनि मृत्यु हुन सक्छ”, २५ वर्षीया मलिकाले आँसु पुछ्दै भनिन्। उनका श्रीमान् दैनिक ज्यालादारीमा काम गर्छन्। काम पाएको दिन तीनदेखि चार दशमलव ६० अमेरिकी डलरसम्म कमाइ भए पनि तीन साना छोरासहित परिवारको पेट पाल्न पर्याप्त हुँदैन।
त्यस्तै लोगार प्रान्तकी २५ वर्षीया जरमिनाले पनि आफ्ना चार कुपोषित सन्तानमध्ये गम्भीर अवस्थाकी दुई वर्षीया छोरी फातमाको ऋणका भरमा काबुल ल्याएर उपचार गराइरहेकी छन्।
अस्पताल भर्ना भएको १२ दिन बितिसक्दा पनि चार दशमलव आठ किलोग्राम तौल भएकी फातमाको तौल बढ्न सकेको छैन। उनकी आमा जरमिनालाई काबुलमा कति समय बस्नुपर्ने हो भन्ने थाहा छैन। उनका अन्य छोरीहरूलाई स्थानीय अस्पतालबाट घर पठाइएको छ र आफन्तले हेरचाह गरिरहेका छन्। तर परिवारसँग पर्याप्त खाना किन्ने पैसा छैन।
राजनीतिक उतारचढावका कारण वैदेशिक सहयोग रोकिँदा त्यसको प्रत्यक्ष असर निर्दोष बालबालिका र विपन्न नागरिकको जीवनमा परेको भन्दै चिकित्सकहरूले स्वास्थ्य सेवालाई राजनीतिभन्दा अलग राख्न र अन्तर्राष्ट्रिय समुदायलाई मानवीय सङ्कटप्रति संवेदनशील बन्न आग्रह गरेका छन्।
असोज ३१, २०८३ शनिबार १५:१०:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।