दशैं बक्स अफिस : समीरको क्रेज, ‘आ बाट आमा’को भावुक ग्राफ र दीपक-दीपाको सदाबहार सफलता

दशैं बक्स अफिस : समीरको क्रेज, ‘आ बाट आमा’को भावुक ग्राफ र दीपक-दीपाको सदाबहार सफलता

काठमाडौं : चाडपर्व नेपाली फिल्म इन्डस्ट्रीका लागि सधैँ ‘गोल्डेन हर्स’ मानिन्छ। हलहरू खचाखच भरिने र लगानी सुरक्षित हुने मुख्य सिजनको रूपमा दशैंलाई हेरिन्छ।

त्यसैले असोज ३० र ३१ गते गरी लगातार दुई दिनमा तीन ठूला फिल्महरू मैदानमा उत्रिएका छन्। संयोग के भने तीनै फिल्म सिक्वेल हुन्।

असोज ३० बाट प्रदर्शनमा आएको बिराज भट्टको निर्देशन तथा समीर भट्ट अभिनीत एक्सन फिल्म ‘१२ गाउँ २’ लाई लिएर चर्चा त छ, तर यसको पाटो अर्कै छ।

यसअघि ‘१२ गाउँ’ अति नै कमजोर फिल्म भए पनि पिता बिराज भट्टको लामो समयपछिको कमब्याक र समीरप्रतिको सुरुवाती कौतूहलका कारण दर्शक हलसम्म गएको देखियो।

तर, त्यसपछि समीरप्रतिको दर्शकको चासो घटेको फिल्म ‘बलिदान’ बाटै देखियो। बलिदानमा उनी मुख्य भूमिकामा हुँदा समेत दर्शकले खासै वास्ता गरेनन् र फिल्मले बजारमा बलियो प्रभाव पार्न सकेन।

यही कारणले ‘१२ गाउँ २’ उनी भन्दा पनि उनको बुबा बिराजको स्टारडमको परीक्षा बराबर हो। यसमा पनि फिल्मले सबै दर्शकका लागि हैन वयस्कका लागि मात्र फिल्म देखाउने अनुमति पाएको छ। यसले एक सय ४० जति शो पाएको छ।

पल शाह अभिनित ‘आ बाट आमा २’ को बलियो पक्ष यसको पहिलो सिक्वेलको सफलता र भावनात्मक पारिवारिक कथा देखिन्छ।

पहिलो भागले कमाएको साख र पछिल्लो समय भावनात्मक कथामा बनेका फिल्मले बक्स अफिसमा बनाएको रेकर्ड यसका लागि सहयोगी बन्न सक्छ। यो फिल्म सबै उमेर समूहका दर्शकले हेर्न पाउने अनूमति पाएको छ। यसले शोको पहिलो दिन एक सय ७० बढी शो पाएको छ।

दशैंको भिडन्तलाई अझ रोचक बनाउन असोज ३१ गते अर्थात् भोलिपल्टै दीपकराज गिरी र दीपाश्री निरौलाको टिमबाट ‘छ माया छपक्कै २’ आउँदैछ। बक्स अफिसमा यो जोडी सधैँ सदाबहार रूपमा सफल रहँदै आएको बलियो रेकर्ड छ।

यसपटक फिल्मको सार्वजनिक ट्रेलरमा देखिएको नयाँ ट्विस्ट र दीपाश्री निरौलाको ‘राधिका दासी’को विशेष गेटअप ले दर्शकको ध्यान खिचेको छ। यद्यपि, फिल्मको ट्रेलर हेर्दा दर्शकले अत्यधिक रुचाउने पात्र ‘माग्ने बुढा’ (केदार घिमिरे) को अभाव खट्किएको प्रस्टै महसुस हुन्छ।

तर, फिल्ममा थपिएका नयाँ कलाकारहरूले उक्त अभावलाई कतिको परिपूर्ति गर्न सक्छन् र कमेडीको धारलाई कहाँसम्म लैजान्छन्, त्यसले नै फिल्मको सफलता निर्धारण गर्नेछ।

यो फिल्म पनि सबै उमेर समूहको दर्शकले हेर्न सक्ने अनुमति छ। शनिबार यो फिल्म रिलिज हुँदा ‘१२ गाउँ-२’ र ‘आ बाट आमा-२’मध्ये जसको अकुपेन्सी बलियो हुन्न उसको शो संख्या काटिन सक्छ।

समीर भट्टको घट्दो प्रभाव,आबाट आमाको ब्रान्ड भ्याल्यू र दीपक-दीपाको सिजनल जादुबीचको यो त्रिकोणात्मक भिडन्तले बक्स अफिसमा कसलाई उकास्छ र कसलाई डुबाउँछ- त्यो भने फिल्म प्रदर्शनपछि नै स्पष्ट हुनेछ।

असोज ३०, २०८३ शुक्रबार ०७:४०:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।