बुटवलमा श्रीमान्को कुटपिटबाट श्रीमतीको मृत्यु, आरोपित पक्राउ
बुटवल : बुटवलमा श्रीमान्को कुटपिटबाट गम्भीर घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ। घटनापछि फरार रहेका आरोपित श्रीमान्लाई प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय बुटवलका अनुसार बुटवल उपमहानगरपालिका-११ मजुवा निवासी ५० वर्षीय दिनेश भन्ने धनबहादुर जोगी कुँवरले असोज २४ गते राति करिब साढे ९ बजे आफ्नी ४५ वर्षीया श्रीमती कमला थापामाथि कुटपिट गरेका थिए।
कुटपिटबाट टाउकोमा गम्भीर चोट लागेकी कमलालाई तत्काल उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल पुर्याइएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको हो।
श्रीमतीको मृत्युपछि फरार रहेका कुँवरलाई बुटवल-१ मा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) निशान्त श्रीवास्तवले जानकारी दिए।
पक्राउ परेका कुँवरलाई नियन्त्रणमा लिएर कर्तव्य ज्यानसम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
असोज ३०, २०८३ शुक्रबार १०:१४:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।