१२ वर्षपछि खुल्यो चीन-उत्तर कोरिया जोड्ने पुल
एजेन्सी : चीन र उत्तर कोरियालाई जोड्ने तीन किलोमिटर लामो नयाँ यालु नदी पुल १२ वर्षको ढिलाइपछि बिहीबार सञ्चालनमा आएको छ। यसबाट दुई देशबीच व्यापार, यातायात र आर्थिक सहकार्य विस्तार हुने अपेक्षा गरिएको छ।
चीनको डान्दोङ सहरलाई उत्तर कोरियाको सिनुइजुसँग जोड्ने चार लेनको पुलको उद्घाटन समारोहमा दुवै देशका प्रधानमन्त्रीले भिडियो सन्देश दिएका थिए। चिनियाँ प्रधानमन्त्री ली छ्याङले पुललाई दुई देशको परम्परागत मित्रताको प्रतीक बताउँदै सीमावर्ती क्षेत्रमा सहकार्य बढ्ने विश्वास व्यक्त गरे।
सन् २०१४ मै सञ्चालनमा ल्याउने लक्ष्य राखिएको पुल उत्तर कोरियातर्फको निर्माण अधुरो रहेकाले लामो समय रोकिएको थियो। चीनमाथिको आर्थिक निर्भरता, उत्तर कोरियाको आणविक कार्यक्रमसम्बन्धी प्रतिबन्धमा चीनको भूमिकालगायत विषयले ढिलाइ भएको हुन सक्ने अनुमान गरिएको थियो।
नयाँ पुलले दुई देशबीचको ७० प्रतिशतभन्दा बढी आधिकारिक व्यापार सम्हाल्दै आएको पुरानो पुलको चाप कम गर्ने अपेक्षा छ। दशकौँ पुरानो पुलमा सडक यातायात एक पटकमा एकतर्फ मात्र सञ्चालन गर्न सकिन्छ।
रुस र उत्तर कोरियाले सडक पुल सञ्चालनमा ल्याएको करिब एक महिनापछि चीनसँगको नयाँ पुल खुलेको हो। चीन लामो समयदेखि उत्तर कोरियाको प्रमुख व्यापारिक साझेदार रहे पनि पछिल्ला वर्षमा नेता किम जोङ उनले रुससँगको सम्बन्ध विस्तार गरेका छन्।
युक्रेन युद्धमा रुसलाई सैनिक र हतियार सहयोग गरेको उत्तर कोरियाले त्यसको बदलामा सैन्य तथा आर्थिक सहयोग पाएको हुन सक्ने विश्लेषकहरूको भनाइ छ।
चीनले उत्तर कोरियामा आफ्नो प्रभाव बलियो बनाउन चाहेको विश्लेषण भइरहेका बेला गत वर्ष उत्तर कोरियाको कुल व्यापारको ९८ प्रतिशत हिस्सा चीनसँग रहेको थियो।
असोज २९, २०८३ बिहीबार १९:११:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।