फ्रान्समा चर्कियो हिंसात्मक प्रदर्शन : सार्वजनिक भवनमा तोडफोड र आगजनी, २७० भन्दा बढी पक्राउ

फ्रान्समा चर्कियो हिंसात्मक प्रदर्शन : सार्वजनिक भवनमा तोडफोड र आगजनी, २७० भन्दा बढी पक्राउ

पेरिस : बढ्दो महँगी, इन्धनको मूल्यवृद्धि र सार्वजनिक सेवामा आएको गिरावटका विरुद्ध फ्रान्सभर देशव्यापी विरोध प्रदर्शन चर्किएको छ।

विगत केही हप्तादेखि विद्यालय सुधारको माग गर्दै आन्दोलनरत विद्यार्थीहरूसँग मजदुर युनियन र ‘यलो भेस्ट’ (पहेंलो ज्याकेट) आन्दोलनकारीहरू पनि मिसिएपछि प्रदर्शनले उग्र रूप लिएको हो।

राजधानी पेरिससहित देशका प्रमुख सहरहरूमा प्रदर्शनकारी र दङ्गा नियन्त्रण प्रहरीबीच दिनभर झडप भएका छन्।

फ्रान्सेली गृह मन्त्रालयका अनुसार देशभर हिंसात्मक गतिविधिमा संलग्न भएको आरोपमा २७० भन्दा बढी प्रदर्शनकारीलाई पक्राउ गरिएको छ।

प्रमुख सहरहरूमा आगजनी र झडप
राजधानी पेरिसको मुख्य केन्द्र ‘प्लेस डे ला रिपब्लिक’मा भेला भएका आन्दोलनकारीलाई तितरबितर पार्न प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेको छ।

उग्र भिड नियन्त्रणका लागि पेरिसमा सहरी हिंसा नियन्त्रण गर्ने विशेष कमान्डो प्रहरी बल समेत परिचालन गरिएको छ।

पेरिसबाहिर लियोन  सहरमा प्रदर्शनकारीहरूले त्यहाँको ऐतिहासिक पर्यटकीय कार्यालय (टुरिस्ट अफिस) मा आगजनी गरेका छन्, जसलाई त्यहाँका मेयरले ‘दुःखद घटना’ भनेका छन्।

त्यस्तै, मार्से र लिल सहरमा प्रदर्शनकारीहरूले नगरपालिका भवन (सिटी हल) भित्र जबर्जस्ती प्रवेश गरी तोडफोड गरेका छन्। स्ट्रासबर्ग र रेनेस लगायतका सहरमा पनि प्रहरीमाथि ढुंगामुढा र आगजनीका घटना भएका छन्।

माग र राजनीतिक आरोप–प्रत्यारोप
विद्यालयहरूमा बजेट तथा शिक्षकको अभावविरुद्ध सुरु भएको विद्यार्थी आन्दोलन अहिले राष्ट्रपति इम्यानुएल म्याक्रोँको नीतिका विरुद्ध देशव्यापी जनआक्रोशमा परिणत भएको छ।

प्रदर्शनकारीहरूले दशक लामो म्याक्रोँको शासनकालमा महँगी बढेको र जीवनयापन असम्भव बन्दै गएको गुनासो गरेका छन्।

कतिपय विद्यार्थीले आफूहरू केवल शान्तिपूर्ण परिवर्तन चाहेको बताएका छन् भने कतिपयले चरमपन्थी राजनीतिका विरुद्ध आवाज उठाएको उल्लेख गरेका छन्।

यता, सरकार र गृहमन्त्रालयले प्रदर्शनको आडमा ‘अति-वामपन्थी’ र ‘ब्ल्याक ब्लक’ समूहले सुनियोजित रूपमा हिंसा, लुटपाट र अराजकता मच्चाएको आरोप लगाएका छन्।

विपक्षी दक्षिणपन्थी नेतृ मरिन ले पेनले प्रदर्शन हिंसात्मक बनेको भन्दै आलोचना गरेकी छिन् भने वामपन्थी दल ‘ला फ्रान्स इन्सोमिस’का नेता जाँ-लुक मेलोनसोँले सञ्चारमाध्यमले हिंसालाई मात्र देखाएको र अधिकांश नागरिक शान्तिपूर्ण रूपमा सडकमा उत्रिएको दाबी गरेका छन्।

असोज ३१, २०८३ शनिबार २१:२४:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।