रिहा भएपछि ध्रुव राठीले भने - 'म पक्राउ परेको होइन, मेरो अपहरण भएको हो'

रिहा भएपछि ध्रुव राठीले भने - 'म पक्राउ परेको होइन, मेरो अपहरण भएको हो'

एजेन्सी : भारतीय युट्युबर ध्रुव राठीले प्रहरी हिरासतबाट रिहा भएपछि आफूलाई पक्राउ वा हिरासतमा लिइएको नभई ‘अपहरण’ गरिएको बताएका छन्।

कक्रोच जनता पार्टीले  दिल्लीको जन्तरमन्तरमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारले मतदाता नामावलीको विशेष सघन पुनरावलोकन (एसआईआर) प्रक्रियामा अनियमितता गरेको आरोप लगाउँदै उनको राजीनामा माग गर्दै हुन लागेको प्रदर्शनअघि दिल्ली प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो।

राठीलाई शनिबार गुरुग्रामको सेक्टर ५६ स्थित उनकै घरबाट हिरासतमा लिइएको थियो। प्रहरी अधिकारीका अनुसार राठीलाई शनिबार राति अबेर रिहा गरिएको हो।

रिहा भएपछि राठीले सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दै आफू भारतीय नागरिक भएको स्पष्ट पारेका छन्। भिडियोमा आफ्नो पासपोर्ट देखाउँदै राठीले भनेका छन्, "यो मेरो पासपोर्ट हो र म एक भारतीय नागरिक हुँ अनि भारतीय नै रहनेछु। म विदेशी पासपोर्ट होल्डर हुँ र प्रोटेस्टमा सामेल हुन सक्दिनँ भन्ने कुरा सरासर झुट हो। म भारतीय नागरिक हुँ र मेरा पनि त्यति नै अधिकार छन्, जति कुनै एक आम नागरिकका हुनुपर्छ।"

राठीले  भिडियोमा पक्राउ पर्दाको घटनाको विवरण बताएका छन्। उनले शनिबार बिहान ७ बजेतिर आफ्नो घरमा साधारण पोशाकका मानिसहरू छिरेको र आफ्नी आमालाई धक्का दिएर बेडरूममा पसेका मानिसहरूले आफूलाई घिसारेर लगेको दाबी गरेका छन्।

"म यहाँ किडन्याप शब्दको प्रयोग गर्दैछु किनभने यो कुनै अरेस्ट वा डिटेन होइन। डिटेन त तब हुन्थ्यो यदि म प्रोटेस्टमा जान्थेँ। अरेस्ट तब हुन्थ्यो यदि कुनै पुलिसवाला आउँथ्यो, आफ्नो वर्दी देखाउँथ्यो, नेम प्लेट देखाउँथ्यो," उनले भनेका छन्।

उनले  घरबाहिर ५० भन्दा बढी मानिसहरू आएको बताएका छन्। राठीले सादा पोसाकमा आएका मानिसहरूले आफूलाई अपराधीलाई जस्तै घिसारेर लगेको र सो क्रममा आफूलाई धेरै चोट लागेको समेत बताएका छन्। उनले प्रहरीले आफूलाई वकिल वा फोनको पहुँच नदिई करिब २२/२३ घण्टासम्म राखेको बताए।

त्यस्तै, राठीले हिरासतमा आफू वरिपरि कम्तीमा १५ जनालाई निगरानीका लागि खटाइएको र आफूलाई अघोषित नजरबन्दमा राखिएको आरोप लगाए।

प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा देशमा तानाशाही बढेको आरोप लगाउँदै उनले भने, "नरेन्द्र मोदीलाई म भन्न चाहन्छु–कसैलाई यति धेरै नडराऊ कि उसको मनबाट डर नै हराओस्।" 

सीजेपीले पनि एक्समा पोस्ट गर्दै शनिबार बिहान ८ बजे सादा पोसाकमा आएका करिब ५० जना प्रहरी कर्मचारीले राठीको घरबाट उनलाई नियन्त्रणमा लिएको आरोप लगाएको छ।

निषेधाज्ञा जारी हुँदाहुँदै पनि जन्तरमन्तर जाने प्रयास गरेमा उनलाई पुनः हिरासतमा लिन सकिने वा थप कानुनी कारबाही हुन सक्ने एक प्रहरी अधिकारीलाई उद्धृत गर्दै एनडिटीभीले उल्लेख गरेको छ।

ठुलो सङ्ख्यामा धरपकड र कडा सुरक्षा
प्रदर्शनस्थलबाट प्रहरीले तीन हजारभन्दा बढी प्रदर्शनकारीहरूलाई नियन्त्रणमा नियन्त्रणमा लिएको थियो। नियन्त्रणमा लिइएकाहरूमा विभिन्न राजनीतिक दलका नेतासमेत थिए। उनीहरूलाई राति अबेर रिहा गरिएको थियो।

सीजेपीका अभिजीत दिप्के , सौरभ दास र आशुतोष राँकालाई पनि शनिबार बिहान निवारक हिरासतमा राखिएको थियो। पछि उनीहरूलाई कार्यकारी मजिस्ट्रेटको आदेशमा रिहा गरिएको थियो।

प्रदर्शनका कारण दिल्लीको जन्तरमन्तरमा हुन सक्ने तनाव रोक्न प्रहरीले राजधानीभर बाक्लो सुरक्षा घेरा बनाएको थियो। जसका कारण प्रदर्शनकारीहरू एकै ठाउँमा भेला हुन नसकेपछि सहरका विभिन्न स्थानमा साना-साना समूह बनाएर प्रदर्शन गर्न बाध्य भएका थिए।

सर्वोच्च अदालतमा आज विशेष सुनुवाइ
शनिबार प्रदर्शनका क्रममा दिल्ली मेट्रो स्टेशनहरू र रेल सेवाहरू पूर्ण रूपमा बन्द गराइएको विषयलाई लिएर दायर गरिएको अदालतको अवहेलना मुद्दासम्बन्धी सर्वोच्च अदालतको विशेष इजलास आज बस्ने अपेक्षा गरिएको छ।

यसअघि शुक्रबार प्रधानन्यायाधीश सूर्य कान्त, न्यायाधीश जोयमाल्य बागची र न्यायाधीश भी. मोहनाको इजलासले शनिबारको विरोध प्रदर्शनअघि मेट्रो सेवाहरू पूर्ण रूपमा बन्द नगर्न निर्देशनात्मक आदेश दिएको थियो।

आइतबार बिहानदेखि मेट्रो सेवा सञ्चालनमा आए पनि सबै प्रवेश तथा निकास द्वारहरूमा बाक्लो सुरक्षा उपस्थिति रहेको छ।  

असोज २५, २०८३ आइतबार १४:४८:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।