दिल्ली जन्तरमन्तर प्रदर्शन : पक्राउ परेका नेताहरू भोलिसम्म रिहा नभए अनशन बस्ने सोनम वाङचुकको चेतावनी
एजेन्सी : भारतको राजधानी नयाँ दिल्लीस्थित जन्तर मन्तरमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्ध भइरहेको प्रदर्शनका क्रममा नियन्त्रणमा लिइएका नेताहरूलाई आइतबारसम्म रिहा नगरिए भोक हडताल वा पैदल यात्रा सुरु गर्ने जलवायु अभियन्ता सोनम वाङचुकले चेतावनी दिएका छन्।
भारतको वर्तमान स्थितिलाई 'अघोषित संकटकाल' को संज्ञा दिँदै वाङचुकले भने, "मैले प्रदर्शनअघि एकता र शान्तिको अपिल गरेको थिएँ, तर यस आन्दोलनसँग जोडिएका नेताहरूलाई नै पक्राउ गरिएला भनेर सोचेको थिएन।"
शनिबार प्रदर्शनस्थल जन्तर मन्तर वरपर सुरक्षा व्यवस्था कडा पारिएको छ। यसैबीच, कक्रोज जनता पार्टीले आफ्ना समर्थकहरूलाई प्रदर्शन स्थलतर्फ अघि बढ्न आह्वान गरेको छ।अभिजीत दिप्केलाई नियन्त्रणमा लिएपछि आन्दोलनको नेतृत्व गरिरहेका अजिङ्क्य शिन्देले भने, "यदि दिल्ली प्रहरीले तपाईंहरूलाई रोक्न खोज्यो भने, प्रहरीले जहाँ रोक्छ त्यही ठाउँ नै तपाईंहरूको जन्तरमन्तर बन्नेछ।
केजरीवालसहितका नेताहरूलाई डेढ घण्टासम्म प्रहरी बसमा घुमाइएको आम आदमी पार्टीको आरोप
अर्कोतर्फ, आम आदमी पार्टीका मिडिया इन्चार्ज अनुराग ढाण्डाले दिल्ली प्रहरीले पूर्वमुख्यमन्त्री अरविन्द केजरीवाल र अन्य नेताहरूलाई नेताहरूलाई करिब डेढ घण्टादेखि बसमा यताउता घुमाइरहेको आरोप लगाएका छन्।
उनले सामाजिक सञ्जाल 'एक्स' मा लेखेका छन्, "प्रहरीले केजरीवाल र हामी सबैलाई डेढ घण्टादेखि बसमा घुमाइरहेको छ। दिल्ली प्रहरीलाई उहाँहरूलाई कहाँ लैजाने भन्ने नै थाहा छैन कि, केजरीवालजीलाई दिल्लीको कुनै पनि प्रहरी चौकीमा लैजान डराइरहेको छ?"
केजरीवालले शनिबार दिउँसो ‘दिल्ली चलो’ आह्वान गरेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो।
यसैगरी, प्रदर्शनलाई मध्यनजर गर्दै दिल्ली मेट्रो रेल कर्पोरेसनले दिल्ली मेट्रोका ४५ वटा स्टेशनका प्रवेश तथा निकास द्वारहरू बन्द गरेको छ। मेट्रो सेवा सामान्य रूपमा सञ्चालन भए पनि शुक्रबार राति ९ बजेदेखि ४५ स्टेशनका द्वारहरू बन्द गरिएका छन्, जुन अर्को आदेश नभएसम्म बन्द रहनेछन्।
दिल्ली प्रहरीले विरोध प्रदर्शनका लागि अघि बढेका करिब एक हजार ५०० जनालाई नियन्त्रणमा लिएको छ। शनिबार राजधानीमा गरिएको यो ठूलो धरपकडका क्रममा दिल्लीका पूर्वमुख्यमन्त्री अरविन्द केजरीवाल, तृणमूल कंग्रेसकी प्रमुख ममता बनर्जी तथा 'आइसा' की नेता नेहा बोरासहितका शीर्ष नेताहरूलाई पक्राउ गरेको छ।
प्रदर्शनको समाचार संकलन गर्न पुगेका पत्रकारहरूलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ। सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियो र पोष्टहरूमा पक्राउ परेका पत्रकारहरूले प्रहरी बसको झ्यालबाट आफ्ना 'प्रेस कार्ड' देखाउँदै विरोध जनाइरहेको देखिएको छ।
यसअघि, प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्ध जन्तरमन्तरमा हुने भनिएको प्रदर्शनमा सहभागी हुन दिल्ली ओर्लिएका कक्रोज जनता पार्टीका नेताहरू अभिजीत दिप्के, सौरभ दास र आशुतोष राङ्कालाई विमानस्थलबाटै नियन्त्रणमा लिइएको थियो। यस्तै, चर्चित युट्युबर ध्रुव राठीलाई गुरुग्रामस्थित उनको घरबाट नियन्त्रणमा लिइएको थियो।
असोज २४, २०८३ शनिबार १८:०८:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।