नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी जागिर खाएको आरोपमा तिवारीविरुद्ध मुद्दा दर्ता
काठमाडौं : जिल्ला स्वास्थ्य कार्यालय ताप्लेजुङका निमित्त कार्यालय प्रमुख सुमनप्रसाद तिवारीविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी पदमा नियुक्ति लिएको र बढुवा भएको आरोपमा विशेष अदालतमा मुद्दा दायर भएको छ।
स्वास्थ्य निर्देशनालय धनकुटामा खोप अधिकृतका रूपमा कार्यरत तथा हाल जिल्ला स्वास्थ्य कार्यालय, ताप्लेजुङका निमित्त कार्यालय प्रमुख रहेका तिवारीले शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेस गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार मुद्दा दायर हो।
अख्तियारका अनुसार तिवारीले शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेस गरेको भन्ने उजुरीका आधारमा अनुसन्धान गरिएको थियो।
अनुसन्धानका क्रममा तिवारीले खोप सुपरभाइजर, राजपत्र अनङ्कित प्रथम श्रेणीको पदमा नियुक्ति लिन बिहार मध्यवर्ती शिक्षा परिषद्, पटनाबाट जारी भएको भनिएको ‘आइए’ तहको झुट्टा तथा नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको पाइएको अख्तियारले जनाएको छ।
उक्त प्रमाणपत्रकै आधारमा तिवारीले माथिल्लो तहका विभिन्न पद तथा श्रेणीमा बढुवा हुनसमेत पटक पटक सोही प्रमाणपत्र पेस गरेको र त्यसबाट राष्ट्रसेवक कर्मचारीका रूपमा पद, ओहदा, लाभ तथा सुविधा प्राप्त गरेको देखिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।
तिवारीलाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा कारबाही गर्न माग गरिएको छ।
आयोगले साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ को उपदफा (२) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजायको माग दाबीसहित विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको जनाएको छ।
असोज २३, २०८३ शुक्रबार २२:०९:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।