बोलपत्र सूचना लुकाएर भुक्तानी : धनौजीका तत्कालीन प्रशासकीय अधिकृतसहित पाँचविरुद्ध भ्रष्टाचार मुद्दा

बोलपत्र सूचना लुकाएर भुक्तानी : धनौजीका तत्कालीन प्रशासकीय अधिकृतसहित पाँचविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बोलपत्र आह्वानको सूचना लुकाएर फर्जी पत्रिकाको आधारमा भुक्तानी लिएको/दिएको धनुषाको आरोपमा धनौजी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गौरीशङ्कर मण्डलसहित पाँच जनामाथि मुद्दा दायर गरेको छ।

गाउँपालिकाले आर्थिक वर्ष २०७७/७८ मा डिप बोरिङ जडान, शीत भण्डारको पर्खाल निर्माण तथा विद्यालय भवन निर्माण योजनाको ठेक्काको बोलपत्र आह्वानको सूचना राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशन नगरी/नगराई रकम भुक्तानी गरेर भ्रष्टाचार गरेको आरोमा आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो।

संघीय सरकारको विशेष अनुदानअन्तर्गतका उक्त तीन योजनाको बोलपत्र आह्वान गर्दा सार्वजनिक खरिद ऐन विपरीत कार्य भएको अख्तियारले जनाएको छ।

आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मण्डल, धनौजी गाउँपालिकाका तत्कालीन सह-लेखापाल विनोदकुमार मण्डल, जनकपुर टुडे मिडिया ग्रुप तथा जनकपुर टुडे राष्ट्रिय दैनिकका प्रधान सम्पादक एवं जनकपुर टुडे मिडिया ग्रुपका अध्यक्ष वृजकुमार यादव, अमृत मिडिया तथा अमृत मिडियाका अध्यक्ष एवं जनकपुर टुडे मिडिया ग्रुपका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र यादव र अमृत मिडियाका बजार प्रतिनिधि सञ्जयकुमार यादवविरुद्ध जनही तीन लाख ८० हजार बिगोसहित भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगका प्रवक्ता सुरेश न्यौपानेले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ङ) बमोजिमको कसुर बिगो तीन लाख ८० हजार कायम गरी कैद र बिगोबमोजिम जरिवाना गरी बिगो असुल उपर गर्न माग दाबी गरिएको बताए। 

असोज २०, २०८३ मंगलबार १९:०४:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।