सुरक्षाका फिल्म हलमा हप्ता दिन टिक्नै मुस्किल!

सुरक्षाका फिल्म हलमा हप्ता दिन टिक्नै मुस्किल!

काठमाडौं : नेपाली फिल्म क्षेत्रमा सुरक्षा पन्त ती सीमित अभिनेत्रीहरूमा पर्छिन्, जसको अभिनय कौशललाई लिएर कसैले प्रश्न उठाउँदैनन्। गम्भीर र चुनौतीपूर्ण भूमिकालाई पर्दामा न्याय गर्न सक्ने भएकै कारण समीक्षकहरू प्रायः उनको प्रशंसामा उदार देखिन्छन्। 

तर, अभिनयमा जति नै तारिफ पाए पनि एउटा तितो यथार्थ के हो भने- सुरक्षाका फिल्महरूले बक्स अफिसमा निर्माताको लगानीलाई भने  ‘सुरक्षा’ दिन सकिरहेका छैनन्। उनले अभिनय गरेका अधिकांश फिल्म हलमा कहिले आए र कहिले उत्रिए, दर्शकलाई पत्तै हुन छाडेको छ।

गत शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘चमेलीको पोइ’ हलमा एक साता पनि टिक्न सकेन। यति छोटो समयमै हलबाट उत्रिनुले फिल्मको कमजोर कमाइको अवस्थालाई प्रस्ट्याउँछ। यस्ता असफलताले स्वयं कलाकारको बजार-प्रभावमाथि पनि स्वाभाविक रूपमा प्रश्न उठाउँछ।

कलाकारको जिम्मेवारी अभिनय गर्ने र पारिश्रमिक बुझ्नेमा मात्र सीमित नहुने भएकाले सुरक्षाले अब आफ्नो करिअर र फिल्मको व्यवसायीक सुरक्षाका लागि स्क्रिप्ट र निर्माण टिम छनोटमा थप सचेत हुनुपर्ने देखिन्छ।

करिब एक दशकअघि ‘अझै पनि’बाट सुरु भएको उनको अभिनय यात्रा ‘धनपति’, ‘भैरे’, ‘रोमियो एन्ड मुना’, ‘चङ्गा चेट’, ‘घर’, ‘धागो’, ‘बहाव’, ‘बुलाकी’ हुँदै पछिल्लो ‘चमेलीको पोइ’सम्म आइपुग्दा अधिकांश फिल्मका निर्माताको लगानी ‘सुरक्षा’को प्रश्न निरन्तर थपिरहनु विडम्बनापूर्ण देखिन्छ।

यद्यपि, उनको कामको चर्चा नभएको भने होइन। निर्देशक दीपेन्द्र के. खनालको फिल्म ‘आमा’मा उनले गरेको मेहनत र सशक्त अभिनयको चौतर्फी प्रशंसा भएको थियो। त्यतिबेला सञ्चारमाध्यममा उनको चर्चा चुलिए पनि त्यसपछिका फिल्महरूले त्यो साखलाई निरन्तरता दिन सकेनन्। 

केही फिल्ममा उनको उपस्थितिले दर्शकको ध्यानसमेत खिच्न सकेन। फिल्म ‘पीताम्बर’मा पूर्व छापामार युवतीको भूमिकामा उनको अभिनय सशक्त मानिए पनि त्यसले व्यावसायिक चर्चा पाउन सकेन। 

उता अनमोल केसी अभिनीत फिल्म ‘जेरी अन टप’मा हिमाली चढ्ने क्याम्पमा उनलाई देखिन्छ। तर दर्शकले खासै नोटिस गरेनन्। व्यापारिक हिसाबले दश करोडमाथिको कमाई गरे पनि लगानीको तुलनामा उक्त फिल्मले समेत निर्मातालाई खासै उकास्न सकेन।

लामो समय फिल्म क्षेत्रमा बिताइसकेकी सुरक्षाले अब फिल्मको संख्या थप्नुभन्दा पनि बलियो कथावस्तु छनोटमा ध्यान दिनुपर्ने पो हो कि! 

असोज २०, २०८३ मंगलबार १७:३२:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।