भोटेकोशी-त्रिशूली बाढीपछिको खोज तथा उद्धार स्थगित, पुनर्निर्माणमा जुट्न निर्देशन
काठमाडौं : सरकारले भोटेकोशी-त्रिशूली बाढीपछिको खोज तथा उद्धारका कार्य स्थगन गर्दै पुनर्निर्माण र पुनर्स्थापनालाई अगाडि बनाउने निर्णय गरेको छ।
प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले अत्यावश्यकबाहेकका खोज तथा उद्धारको कार्यलाई स्थित गरेर पुनर्निर्माण र पुनर्स्थापनाको कार्य अगाडि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ।
जिल्ला सुरक्षा समिति, जिल्ला विपद् व्यवस्थापन समिति, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समिति र स्थलगत अवलोकनपछि गरेको सिफारिसका आधारमा सरकारले उद्धार चरण स्थगन गरी पुनर्निर्माणमा केन्द्रित हुने निर्णय लिएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ।
बैठकले प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि पाँच खर्ब ५९ अर्ब १७ करोड रुपैयाँ बराबरको बजेट स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिस गर्ने निर्णय गरेको छ। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ बमोजिम स्वीकृत यी आयोजनाहरूका लागि अर्थ मन्त्रालयमार्फत स्रोत व्यवस्थापन गरिनेछ।
यसैगरी, हालसम्म लागत अनुमान नखुलेका र प्राथमिकीकरण हुन बाँकी रहेका आयोजनाहरूको विवरण प्राप्त भएपछि आवश्यक बजेट व्यवस्थाका लागि अर्थ मन्त्रालयमा सिफारिस गर्न प्राधिकरणलाई निर्देशन दिइएको छ।
बैठकमा शाहले विपद् व्यवस्थापनझैँ पुनर्निर्माण र पुनर्स्थापनाको काम पनि संघ, प्रदेश र स्थानीय सरकारको समन्वयमा अघि बढाइने बताए। बैठकमा विपक्षी दल तथा नेपाली कांग्रेसका संसदीय दलका नेताका साथै बागमती, गण्डकी, मधेश र कोशी प्रदेशका मुख्यमन्त्रीहरूले पुनर्निर्माण प्रक्रियामा पूर्ण साथ रहने प्रतिबद्धता व्यक्त गरे।
असोज १९, २०८३ सोमबार १५:०८:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।