एक महिनाभित्रै स्थानीय तहबाट नापी र मालपोत सेवा दिने व्यवस्था मिलाउन निर्देशन

एक महिनाभित्रै स्थानीय तहबाट नापी र मालपोत सेवा दिने व्यवस्था मिलाउन निर्देशन

जनकपुरधाम : भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले एक महिनाभित्रै स्थानीय तहबाट नापी र मालपोतसम्बन्धी सेवा प्रवाह गर्नेगरी आवश्यक तयारी अघि बढाउन कर्मचारीलाई निर्देशन दिएकी छन्।

जिल्ला प्रशासन कार्यालय धनुषामा आज आयोजित छलफलमा उनले सामान्य कामका लागि नागरिक सदरमुकाम धाउनुपर्ने बाध्यता अन्त्य गर्दै सरकारको प्रतिबद्धता र समयसीमाभित्रै नापी र मालपोत सेवा स्थानीय तहबाटै उपलब्ध गराउन आवश्यक जनशक्ति, पूर्वाधार र व्यवस्थापकीय तयारी अघि बढाउन निर्देशन दिएकी हुन्।

स्थानीय तहमै सहज रूपमा सेवा पाउने वातावरण निर्माण गर्नुपर्ने रावलको भनाइ थियो। उनले दलित, भूमिहीन सुकुमबासी तथा अव्यवस्थित बसोबासीलाई निर्धारित समयभित्र जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गर्नेगरी काम गर्न भूमि समस्या समाधान समितिलाई निर्देशन दिइन्। 

भूमिसम्बन्धी समस्या समाधान गर्दा वास्तविक लाभग्राहीको पहिचान गरी निष्पक्ष र पारदर्शी ढङ्गले काम गर्नुपर्नेमा जोड दिँदै उनले कुनै पनि बहानामा सेवा प्रवाहमा ढिलासुस्ती नगर्न आग्रह गरिन्।

सरकारको मूलमन्त्र सुशासन र पारदर्शिता रहेको उल्लेख गर्दै रावलले यस विषयमा सरकारले कुनै सम्झौता नगर्ने स्पष्ट पारिन्। सार्वजनिक सेवा प्रवाहलाई नागरिकमैत्री, सरल र सहज बनाउन कर्मचारी प्रशासन जिम्मेवार हुनुपर्ने उनले बताइन्। 

उनले सरकारी सेवा नागरिकको घरदैलोसम्म पुर्याउने उद्देश्यले सरकारले अघि सारेका योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै तहका कर्मचारी र स्थानीय तहका जनप्रतिनिधिबीच समन्वय आवश्यक रहेको धारणा राखिन्।

मंसिर ११, २०८३ शुक्रबार १८:२३:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।