सुकुमवासीलाई होल्डिङ सेन्टरबाट हटाउने सरकारी तयारीको विपक्षमा कांग्रेस

सुकुमवासीलाई होल्डिङ सेन्टरबाट हटाउने सरकारी तयारीको विपक्षमा कांग्रेस

काठमाडौं : वैकल्पिक आवासको व्यवस्था नगरी होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासी परिवारलाई हटाउने सरकारको निर्णयप्रति  नेपाली कांग्रेसले आपत्ति जनाएको छ। शुक्रवार पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले निर्णय तत्काल फिर्ता लिन र विस्थापित परिवारको सुरक्षित तथा सम्मानजनक पुनर्वासको व्यवस्था गर्न सरकारसँग माग गरेको छ।

कांग्रेसले स्थायी बसोबासको आश्वासन दिएर बस्तीबाट हटाएर अस्थायी रूपमा होल्डिङ सेन्टरमा राखेर अहिले त्यहाँबाट पनि  हटाउन खोज्नु संविधानप्रदत्त आवासको हक, प्रचलित कानुन र सामाजिक न्यायको मर्म विपरीत रहेको  बताएको छ।

राज्यले घरबारहीन नागरिकलाई आश्रय दिनुपर्नेमा उल्टो उनीहरूको बाँकी रहेको आश्रयसमेत खोस्न खोजेको भन्दै उसले भूमिहीन तथा अव्यवस्थित बसोबासीको समस्या दमन र विस्थापनबाट नभई न्यायपूर्ण, मानवीय र दीर्घकालीन समाधानबाट सम्बोधन गर्न माग गरेको छ।

बैठकले होल्डिङ सेन्टरको समन्वय र सहजीकरणको लागि केन्द्रीय सदस्य केशव निरौलाको संयोजकत्वमा समितिसमेत गठन गरेको छ। समितिमा केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठ र प्रबल थापा सदस्य रहेका छन्। 

मंसिर ११, २०८३ शुक्रबार १८:५१:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।