बाढीको एक महिना : तुइनमा झुण्डिएको त्रिशूलीको दैनिकी (फोटोकथा)
नुवाकोट : गत भदौ १० गते रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा उर्लिएको भीषण बाढीले के मात्रै बगाएन? हजारौंका सपना, परिवारका सहारा र वर्षौंदेखि जोडेका थातथलो एकाएक बगरमा परिणत भए।
सरकारी तथ्यांकअनुसार बाढीमा परी १ हजार ४ सयभन्दा बढीको ज्यान गयो भने ५ हजारभन्दा बढी नागरिक अझै त्रिशूलीको बगर र बालुवामुनि बेपत्ता छन्।
बाढीबाट बाँचेकाहरू होल्डिङ सेन्टरमा रहँदा प्रत्यक्ष चपेटामा नपरेका नागरिकको दैनिकी पनि उत्तिकै कष्टकर बनेको छ। कारण- बाढीले रसुवादेखि धादिङसम्मका ३५ वटा पक्की र ४५ वटा झोलुङ्गे पुल एकै खेपमा लग्यो।

बाढी गएको एक महिनापछि बुधबार उकेराकर्मी नुवाकोट पुग्दा त्यहाँको दैनिकी करिब ३० वर्ष पछाडि धकेलिएको देखियो। त्रिशूली पक्की पुल बगेपछि अहिले नुवाकोटको त्रिशूली बजार र देवीघाटमा ‘तुइन युग’ फर्किएको छ।
बाढीअघि पक्की पुलबाट हिँडेर १० मिनेटमै त्रिशूली वारपार हुन्थ्यो। अहिले त्यही नदी तर्न ज्यानको बाजी लगाउनुपर्छ।

फलामे तारमा झुण्डिएको फलामे बाकस। तल उर्लिरहेको त्रिशूली नदी। यही फलामे बाकसभित्र कोच्चिएर विद्यालय जाने साना बालबालिका, कार्यालयका कर्मचारी, बिरामी र काखमा दूधे बालक च्यापेका आमाहरू नदी वारपार गर्न बाध्य छन्।
नदीको एक छेउबाट अर्को छेउसम्म पुग्दा हरेक यात्रुको मुटुको ढुकढुकी बढेको हुन्छ। तर, काम र पढाइमा जानैपर्ने बाध्यताले त्रासलाई दबाएर उनीहरू तुइनमा चढ्छन्।

नदी तर्न पनि खातामा नाम
अहिले त्रिशूली बजारमा मानिसको चाप धान्न नसकेर तीन वटा तुइन र तीन वटा जिपलाइन सञ्चालनमा ल्याइएको छ। तर, यात्रुको भीड यति छ कि बिहानैदेखि साँझसम्म नदी किनारमा मानिसहरूको लाम लाग्ने गर्छ।

स्थानीय प्रशासन र स्वयंसेवकहरूले खातामा नाम टिपेर राखिएको छ। आफ्नो पालो नआउञ्जेल स्थानीयहरू लाइन बस्छन्। पहिला १० मिनेटमा सकिने यात्राका लागि स्थानीय अहिले लामो समयसम्म पालो कुर्न विवश छन्।

बगर बनेको बजार, आकाशिएको महँगी
बाढीले सडक र पुलसँगै त्रिशूली बजारको तल्लो तटीय क्षेत्र भत्काइदिएपछि खोलापारीका गाउँहरूमा खाद्यान्न र दैनिक उपभोग्य वस्तु महंगिएको छ। मानिसहरू त तुइन र जिपलाइनबाट जेनतेन वारपार गर्छन्, तर भारी सामान तुइनबाट ल्याउन सम्भव छैन।

पहिले २ किलोमिटरको दूरीमा ढुवानी हुने खाद्यान्न अहिले धादिङको गल्छी हुँदै ३० किलोमिटरभन्दा लामो कच्ची र जोखिमपूर्ण बाटो घुमाएर ल्याउनुपरेको छ। यसले गर्दा त्रिशूलीपारी खाद्यान्न र निर्माण सामग्रीको मूल्य आकाशिएको छ।
पुल कहिले बन्ला?
नागरिकको सास्ती कम गर्न नुवाकोट निर्माण व्यवसायी संघले त्रिशूली बजारमा झोलुङ्गे पुल बनाउने घोषणा गरेको थियो। तर, एक महिना बितिसक्दा पनि पुलको लठ्ठासमेत तानिएको छैन।

यता, सडक डिभिजनको स्वीकृतिमा विदुर नगरपालिकाले ढुङ्गे नजिकै नेपाली सेनाको सहयोगमा बेलिब्रिज राख्ने तयारी थालेको छ।
कृषि विकास बैंक पछाडिको भागमा जग (बेस) हाल्ने तयारी भइरहेको छ। देविघाटमा भने पुल बनाउन जग हाल्ने काम भइरहेको छ। तर, प्राविधिकहरूका अनुसार बेलिब्रिजको बेस बन्न अझै कम्तीमा एक हप्ता लाग्नेछ र त्यसपछि मात्र पुल जडान सुरु हुनेछ।

त्यतिञ्जेलसम्म त्रिशूलीपारीका स्थानीयका लागि आफ्नो घर-गाउँ पुग्ने एकमात्र सहारा यही धराप तुइन र जिपलाइनको लठ्ठा मात्रै हो।





असोज १५, २०८३ बिहीबार १५:०४:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।