स्वदेश फर्किए परराष्ट्रमन्त्री खनाल, भने- राष्ट्रसंघमा प्रधानमन्त्री बालेन शाहको सम्बोधन ऐतिहासिक र अर्थपूर्ण

स्वदेश फर्किए परराष्ट्रमन्त्री खनाल, भने- राष्ट्रसंघमा प्रधानमन्त्री बालेन शाहको सम्बोधन ऐतिहासिक र अर्थपूर्ण

काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर बुधबार स्वदेश फर्किएका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री खनालले यसपटकको महासभामा नेपालले जलवायु न्याय, सुशासन र राष्ट्रिय हितका मुद्दालाई सशक्त रूपमा उठाएको जानकारी दिए।

नेपालले राष्ट्रसंघको सदस्य बनेदेखि नै अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो बलियो उपस्थिति जनाउँदै आएको उल्लेख गर्दै मन्त्री खनालले यसपटक बदलिएको राजनीतिक तथा सामाजिक परिवेशबीच नेपालको सहभागिता विशेष रहेको बताए।

महासभामा नेपालको पछिल्लो राजनीतिक परिवर्तन, वर्तमान सरकारका नीति तथा कार्यक्रम, सुशासन र समृद्धिका लागि नागरिकका आकाङ्क्षाका साथै विश्व व्यवस्थामा नेपालको स्पष्ट दृष्टिकोण प्रस्तुत गरिएको उनले जानकारी दिए।

महासभामा नेपालले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रले भोगिरहेको सङ्कटलाई उच्च प्राथमिकताका साथ उठाएको छ। मन्त्री खनालले हालैको भोटेकोशी बाढीलाई अन्तर्राष्ट्रिय मञ्चमा ‘हिमाली सुनामी’ को संज्ञा दिइएको बताए।

‘जलवायु परिवर्तनका कारण हाम्रा हिमाली क्षेत्रहरूले अकल्पनीय जोखिम सामना गरिरहेका छन्। भोटेकोशीमा आएको विपद् एउटा हिमाली सुनामी नै हो,’ मन्त्री खनालले भने, ‘यसपटक हामीले विश्वमञ्चमा जलवायु न्यायको विषयलाई निकै प्रस्ट र गम्भीर रूपमा प्रस्तुत गरेका छौँ।’

यसैगरी, प्रधानमन्त्री बालेन शाहले महासभाको ‘जनरल डिबेट’मा गरेको सम्बोधन नेपालको कूटनीतिक र राष्ट्रिय हितका दृष्टिले निकै अर्थपूर्ण रहेको मन्त्री खनालले दाबी गरे।

प्रधानमन्त्री शाहको सम्बोधनमा जलवायु न्यायसँगै नेपालको राष्ट्रिय हित, विश्वशान्ति र अन्तर्राष्ट्रिय मुद्दाहरूमा नेपालको अडानलाई स्पष्ट रूपमा राखिएको उनले बताए।

समग्रमा यसपटकको ८१औँ महासभा नेपालको राष्ट्रिय हित प्रवर्द्धन र अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउन पूर्ण रूपमा सफल रहेको परराष्ट्रमन्त्री खनालको भनाइ छ।

असोज १४, २०८३ बुधबार १०:३०:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।