बागलुङ बाढीपहिरो : १२ जनाको मृत्यु, ६१ घरगोठ बगे, वडा कार्यालय नै कटानमा
बागलुङ : असोज ९ देखि ११ गतेसम्म परेको अविरल वर्षाका कारण बागलुङमा ठूलो जनधनको क्षति भएको छ।
बाढी र पहिरोमा परी जिल्लाभर १२ जनाको मृत्यु भएको छ भने एक जना अझै बेपत्ता छन्। विपद्ले जिल्लाभर ६१ वटा घरगोठ बगाएको छ भने ५१ वटा घरमा आंशिक क्षति पुर्याएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख फणिन्द्र प्रसाईँका अनुसार मृत्यु हुनेमा निसीखोला गाउँपालिकाका ५, तमानखोलाका ४ र ताराखोलाका ३ जना रहेका छन्। तमानखोलाको पहिरोमा परी एक महिला अझै बेपत्ता छिन्, जसको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
बाढीपहिरोबाट निसीखोला र तमानखोला गाउँपालिका सबैभन्दा बढी प्रभावित बनेका छन्। प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यका अनुसार बाढीले ५१ वटा घर र १० वटा गोठ पूर्ण रूपमा बगाएको छ।
भौतिक संरचना र पशुचौपायामा ठूलो क्षति
जनधनसँगै जिल्लाका भौतिक संरचनामा पनि बाढीले ठूलो क्षति पुर्याएको छ। दरमखोलाको कटानले गलकोट नगरपालिका-९ को वडा कार्यालय भवन नै बगाएको छ।
यसैगरी, तीनवटा झोलुङ्गे पुल पूर्ण रूपमा बगेका छन् भने दुईवटा प्रहरी कार्यालय र दुईवटा जलविद्युत आयोजनामा आंशिक क्षति पुगेको छ।
एउटा विद्यालय, एउटा रिसोर्ट र एउटा कृषि फार्ममा पनि बाढीले क्षति पुर्याएको प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिए। विपद्मा परी २५६ वटा पशुचौपाया र २१५ वटा कुखुरा मरेका छन्।
जिल्ला प्रशासन कार्यालयको तथ्याङ्कअनुसार बडिगाड गाउँपालिका-९ खाल्लेचौरमा सबैभन्दा धेरै १६ घर पूर्ण र १४ घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन्। वडा नं ८ भीमगिठेमा तीन घरमा आंशिक र दुई गोठमा पूर्ण क्षति पुगेको छ।
यस्तै, निसीखोला-४ मा २२ घर (२० कच्ची, २ पक्की) र ४ वटा गोठ पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने ११ घर जोखिममा छन्। वडा नं १ मा तीन घरमा आंशिक क्षति पुगेको छ।
तमानखोला-४ सन्तरमा ८ घर र वडा नं ३ धमास्कमा २ घर पूर्ण रूपमा भत्किएका छन्। उता गलकोट-१ फैरसोतमा बाढीले ५ घर (२ पक्की, ३ कच्ची), २ वटा होटल/रिसोर्ट र १ गोठ बगाएको छ।
ढोरपाटन नगरपालिका-७ र १२ मा तीन घर पूर्ण र एक घरमा आंशिक क्षति पुगेको छ। बागलुङ नगरपालिका-३ र ९ तथा काठेखोलाका विभिन्न वडामा पनि घरगोठमा क्षति पुगेको प्रशासनले जनाएको छ।
निसीखोलाद्वारा राहत वितरण सुरु
बाढीपहिरोबाट सबैभन्दा बढी क्षति व्यहोरेको निसीखोला गाउँपालिकाले विपद् प्रभावित परिवारलाई तत्काल राहत वितरण सुरु गरेको छ।
गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्तीका अनुसार मृतकका परिवारलाई प्रतिव्यक्ति ५० हजार रुपैयाँका दरले नगद राहत उपलब्ध गराइएको छ।
त्यस्तै, घर पूर्ण रूपमा क्षति भएका २४ परिवारलाई जनही ३० हजार र घर उच्च जोखिममा रहेका वा आंशिक क्षति भएका २१ परिवारलाई १० हजार रुपैयाँका दरले आर्थिक सहयोग प्रदान गरिएको छ।
नगदसँगै गाउँपालिकाले प्रभावितहरूलाई चामल, त्रिपाललगायतका अत्यावश्यक सामग्रीसमेत वितरण गरेको छ।
असोज १४, २०८३ बुधबार ०९:२५:५६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।