वर्षा बाधक बन्दा नेपाल एसियन गेम्सबाट बाहिरियो, श्रीलंका सेमिफाइनलमा

वर्षा बाधक बन्दा नेपाल एसियन गेम्सबाट बाहिरियो, श्रीलंका सेमिफाइनलमा

काठमाडौं : लगातारको वर्षाका कारण एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपालको यात्रा दुर्भाग्यपूर्ण रूपमा क्वार्टरफाइनलमै टुङ्गिएको छ।

जापानको निसिनस्थित मैदानमा मंगलबार स्थानीय समयअनुसार बिहान ९ बजेका लागि तय भएको नेपाल र टेस्ट राष्ट्र श्रीलंकाबीचको तेस्रो क्वार्टरफाइनल खेल वर्षाका कारण सम्भव नभएपछि रद्द भएको छ।

खेल रद्द भएसँगै अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी-२० वरीयतामा माथिल्लो स्थानमा रहेको आधारमा श्रीलंका सिधै सेमिफाइनलमा प्रवेश गरेको छ भने नेपाल प्रतियोगिताबाट बाहिरिएको छ।

प्रतियोगिताको नियमानुसार नकआउट चरणका खेलहरू वर्षाले रद्द भएमा उच्च वरीयता प्राप्त टोली स्वतः अघिल्लो चरण प्रवेश गर्ने प्रावधान रहेको छ।

क्वार्टरफाइनलका तीनवटै खेल वर्षाको शिकार
यस प्रतियोगितामा वर्षाका कारण खेल नै नभई उच्च वरीयताका आधारमा टोली सेमिफाइनल पुगेको यो लगातार तेस्रो खेल हो।

यसअघि सोमबार पनि भारी वर्षा र ओसिलो आउटफिल्डका कारण पहिलो र दोस्रो क्वार्टरफाइनल खेलहरू टससमेत हुन नपाई रद्द भएका थिए।

जसका कारण उच्च वरीयताको फाइदा उठाउँदै पाकिस्तान (हङकङविरुद्ध) र भारत (अफगानिस्तानविरुद्ध) सेमिफाइनलमा पुगिसकेका छन्। ठीक त्यसैगरी मंगलबारको पहिलो खेलमा पनि मौसम बाधक बन्दा श्रीलंकाले भाग्यमानी सावित हुँदै अन्तिम चारमा स्थान बनायो।

नेपालको क्वार्टरफाइनलसम्मको यात्रा
नेपाल समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्दै समूह विजेता बनेर क्वार्टरफाइनल पुगेको थियो। समूह चरणको खेलमा नेपालले बलियो प्रतिद्वन्द्वी अफगानिस्तानलाई पराजित गर्दै शानदार सुरुवात गरेको थियो।

त्यस्तै, दोस्रो खेलमा घरेलु टोली जापानविरुद्ध टस हारेर पहिला ब्याटिङ गरेको नेपालले वर्षाले १५ ओभरमा छोट्याइएको खेलमा १४९ रन बनाउँदै जापानलाई १५० रनको लक्ष्य दिएको थियो।

तर, लगातारको वर्षाका कारण उक्त खेलको दोस्रो इनिङ हुन नसकेपछि नेपाल र जापानले अंक बाँडेका थिए। अंक बाँडे पनि नेपाल समूह विजेता बन्दै क्वार्टरफाइनलमा श्रीलंकासँगको भिडन्त पक्का गर्न सफल भएको थियो। तर, क्वार्टरफाइनलमा भने वर्षा नेपालका लागि घातक बन्यो।

अब सेमिफाइनल समीकरण
नेपाललाई पछि पार्दै सेमिफाइनल पुगेको श्रीलंकाले अब बिहीबार फाइनल प्रवेशका लागि भारतको सामना गर्नेछ।

त्यस्तै, पहिलो सेमिफाइनलमा पाकिस्तानले अन्तिम क्वार्टरफाइनलअन्तर्गत बंगलादेश र मलेसियाबीच हुने खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। यदि उक्त खेल पनि वर्षाले रद्द भएमा उच्च वरीयताको आधारमा बंगलादेश सेमिफाइनल पुग्नेछ।

असोज १३, २०८३ मंगलबार ०७:१७:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।