नेपालले अफगानिस्तानलाई दोस्रो पटक हरायो, रोहितले बनाए सर्वाधिक रन
काठमाडौं : एसियाली खेलकुदअन्तर्गत पुरुष टी-२० क्रिकेटमा नेपालले टेस्ट राष्ट्र अफगानिस्तानमाथि ५ विकेटको सानदार जित दर्ता गरेको छ।
जापानको निसिनस्थित कोह्रोगी स्पोर्ट्स पार्कमा भएको समूह 'ए' को खेलमा अफगानिस्तानले दिएको १०३ रनको लक्ष्य नेपालले १६ बल बाँकी छँदै १७.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो।
यो जितसँगै नेपालले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा अफगानिस्तानलाई दोस्रो पटक पराजित गर्दै नयाँ इतिहास रचेको छ।
१२ वर्षपछि दोहोरियो इतिहास
यसअघि नेपालले सन् २०१४ को आईसिसी पुरुष टी-२० विश्वकपमा अफगानिस्तानलाई पहिलोपटक स्तब्ध बनाएको थियो।
सन् २०१४ मार्च २० मा बंगलादेशको चटगाउँमा भएको खेल नै टी-२० अन्तर्राष्ट्रियमा दुई देशबीचको पहिलो आधिकारिक भेट थियो।
त्यस ऐतिहासिक खेलमा नेपालले दिएको १४२ रनको लक्ष्य पछ्याउने क्रममा अफगानिस्तान १३२ रनमा रोकिएपछि नेपाल ९ रनले विजयी भएको थियो।
उक्त खेलमा नेपालका तीव्र गतिका बलर जितेन्द्र मुखिया ‘प्लेयर अफ द म्याच’ चुनिएका थिए।
त्यसको ठ्याक्कै १२ वर्षपछि नेपालले बहुप्रतिष्ठित एसियाली खेलकुदको मञ्चमा अफगानिस्तानविरुद्ध पुनः अर्को ऐतिहासिक जित निकालेको हो।
रोहित र सन्दीपको परिपक्व ब्याटिङ
१०३ रनको सामान्य विजयी लक्ष्य पछ्याएको नेपालको सुरुआत भने निकै खराब रह्यो।
इनिङ्सको दोस्रो बलमै ओपनर कुशल भुर्तेल शून्य रनमा आउट भए भने अर्का ओपनर आसिफ सेख पनि व्यक्तिगत २ रनमै पेभेलियन फर्किए। कुशल मल्ल ९ रन बनाएर रनआउट भएपछि नेपालले ३१ रनमै ३ विकेट गुमाएर दबाब महसुस गरेको थियो।
तर, मध्यक्रममा सन्दीप जोरा र रोहित पौडेलले उत्कृष्ट इनिङ्स खेल्दै नेपाललाई जिततर्फ डोर्याए। जोराले ३५ बल खेल्दै ३ चौका र १ छक्काको मद्दतमा सर्वाधिक ३४ रन बनाए।
त्यस्तै, रोहित पौडेलले ३२ बलमा ४ चौका प्रहार गर्दै अविजित ३३ रनको महत्त्वपूर्ण योगदान दिए। कप्तान दीपेन्द्रसिंह ऐरीले १८ बलमा १५ रन बनाए भने गुलशन झा १ रनमा अविजित रहे।
अफगानिस्तानका फरिदुन दाउदजाई, अब्दुल्लाह अहमदजाई र अरब गुलले समान १/१ विकेट लिए।
कुशल र ललितको घातक बलिङ
यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको अफगानिस्तानलाई नेपाली बलरहरूले बाँधेर राखेका थिए। अफगानिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर मात्र १०२ रन बनाउन सक्यो।
नेपालका लागि स्पिनर कुशल भुर्तेलले आफ्नो बलिङ चामत्कार देखाउँदै ४ ओभरमा १ मेडनसहित २१ रन खर्चेर सर्वाधिक ४ विकेट लिए। त्यस्तै, किफायती बलिङ गरेका स्पिनर ललित राजवंशीले ४ ओभरमा मात्र १३ रन खर्चेर सुरुवाती ३ महत्त्वपूर्ण विकेट हात पारे।
अफगानिस्तानका लागि टी–२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका फैसल खान अहमदजाई र अनुभवी नजिबुल्लाह जादरानले समान ३०/३० रन तथा नाङ्गेयालिया खानले अविजित १७ रन बनाए पनि टोलीलाई ठूलो स्कोरतर्फ डोर्याउन सकेनन्।
यो सानदार जितसँगै नेपालले एसियाली खेलकुदको अघिल्लो चरण प्रवेशको सम्भावनालाई बलियो बनाएको छ। अब नेपालले भोलि जापानसँग यही समूहको अर्को खेल खेल्दैछ।
असोज ९, २०८३ शुक्रबार १३:५२:५६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।