चार दशकदेखि अभिनयमा सक्रिय जयन्तको हिजोको कुरा : फिल्म क्षेत्रमा ग्रुपिजम नै मुख्य समस्या

चार दशकदेखि अभिनयमा सक्रिय जयन्तको हिजोको कुरा : फिल्म क्षेत्रमा ग्रुपिजम नै मुख्य समस्या

काठमाडौं : काठमाडौंका ६१ वर्षीय जयन्त रेग्मी विगत चार दशकदेखि अभिनय क्षेत्रमा सक्रिय छन्। रङ्गमञ्चबाट सुरु भएको उनको अभिनय यात्रा टेलिफिल्म हुँदै ठूलो पर्दासम्म निरन्तर छ। पछिल्लो समय प्रदर्शनमा आएका फिल्म ‘कमला मिस’ र ‘झिँगे दाउ-२’मा उनले छोटो भूमिका निर्वाह गरेका छन्।

धुम्बाराहीमा जन्मे-हुर्केका रेग्मीले २०३० को दशकयता काठमाडौंको फेरिएको स्वरूपलाई नियालेका छन्। त्यो बेला गाउँमा प्राथमिक तहभन्दा माथि विद्यालय नहुँदा उनी चामुण्डा र दरबार हाईस्कुलसम्म धाएर पढे। वर्षायाममा गोपीकृष्ण आसपासको हिलो बाटोमा जुत्ता हातमा बोकेर चक्रपथसम्म निस्कनुपर्ने बाध्यता उनीसँग अझै ताजै छ।

दरबार हाईस्कुल पढ्दा नै उनी रङ्गमञ्चसँग जोडिएका थिए। वि.सं. २०३८ मा राष्ट्रिय नाचघरमा मञ्चन भएको ‘हेर्दिनुहोस् न एक पटक’ उनको पहिलो नाटक थियो। त्यसपछि उनले आधा दर्जनभन्दा बढी नाटकमा अभिनय गरे।

वि.सं. २०४२ मा नेपाल टेलिभिजनको स्थापना भएपछि उनले रमेश बुढाथोकी निर्देशित ‘तृष्णा’ टेलिफिल्ममा सानो भूमिका पाए। त्यसयता उनले काममा कहिल्यै खाली बस्नु परेन, यद्यपि आफूलाई दर्शकको एउटा सीमित वृत्तले मात्र चिन्ने गरेको उनी स्वीकार गर्छन्।

उनी भन्छन्, "मेरो काम अभिनय गर्ने हो। २५ वर्षअघिका दर्शकले अहिले पनि चिन्नुहुन्छ, तर नयाँ पुस्तामाझ भने सोचेजस्तो भिज्न सकिएको छैन।"

उनका अनुसार नेपाली फिल्म क्षेत्रमा काम पाउन ग्रुपिजम मुख्य समस्या बनेको छ। कुनै कलाकारलाई काम दिने पक्का भए पनि ‘फलानो गुटको मान्छे’ भन्दै अन्तिम समयमा हटाउने प्रवृत्ति मौलाएको र यसैले गर्दा नेपाली फिल्म उद्योग उँभो लाग्न नसकेको उनको बुझाइ छ।

चार दशकभन्दा लामो अभिनय अनुभवपछि अब आफैँ फिल्म निर्माणको तयारीमा रहेका रेग्मीले आफ्नो विगत र अभिनय यात्राका अनुभव ‘उकेरा’को स्तम्भ हिजोको कुराकानीसँग यसरी सुनाएका छन्:

गाउँमा मावि नहुँदा पढ्नका लागि दौडादौड
म वि.सं. २०२२ सालमा काठमाडौंको बुढानीलकण्ठ नगरपालिका-१३, सपाटारमा जन्मेको हुँ। मेरो बाल्यकाल यहीँ नै बित्यो। मेरो घरछेउमै एउटा प्राथमिक विद्यालय थियो, जहाँ मैले ३ कक्षासम्म पढेँ।

त्यो बेला अहिले जस्तो गाउँठाउँमै माध्यमिक विद्यालयहरू नहुँदा पढ्नका लागि अन्यत्रै धाउनुपर्थ्यो। बुबाले मलाई नारायणटारस्थित चामुण्डा स्कुलमा लगेर ८ कक्षामा भर्ना गरिदिनुभयो। अहिले जस्तो गाडीको सुविधा थिएन; खेतका आली र कुलेसाको बाटो हिँड्दै स्कुल पुग्न सवा घण्टा लाग्थ्यो। त्यहाँ एक वर्ष पढेपछि म दरबार हाईस्कुल गएँ। 

दरबार हाईस्कुलमा ९ र १० कक्षा पढेको हुँ। २०३८ सालमा त्यहीबाट एसएलसी परीक्षा दिएँ। तर, पहिलो प्रयासमै पास हुन सकिनँ। २०४१ सालमा मात्र मैले एसएलसी पास गरेँ।

अहिले मेरो घरवरपर निजी तथा सरकारी विद्यालय र क्याम्पसहरू खुलेका छन्। तर, त्यो समय यस्तो अवस्था थिएन। म बस्ने क्षेत्रमा बस्ती नै थिएन; गोपीकृष्ण आसपास त दुई-चार वटा मात्र घर देखिन्थे, बाँकी सबै धानखेत थियो। बाटोघाटो भन्नु नै गोरेटो मात्र थियो। 

चक्रपथसम्म आइपुग्दा हिलोका कारण जुत्ता-चप्पल हातमा बोकेर हिँड्नुपर्थ्यो। पछि वि.सं. २०३५/३६ सालको आन्दोलन र २०५८ पछिको माओवादी द्वन्द्वका कारण यहाँ बस्ती बाक्लिन थाल्यो। द्वन्द्व नभएको भए सायद अहिले यहाँ बाक्लो बस्ती हुँदैनथ्यो होला कि! त्यो समय धेरैका लागि काठमाडौं नै सुरक्षित ठाउँ बन्न पुग्यो।

एसएलसी पास गरेपछि मैले नेपाल ल क्याम्पसमा भर्ना लिएँ। तर, ५-६ महिना जति कलेज गएपछि पढाइलाई निरन्तरता दिन सकिनँ र छोडिदिएँ।

त्यो बेलाको पढाइको कुरा गर्दा कडा अनुशासन हुन्थ्यो। विद्यार्थीहरू शिक्षकलाई असाध्यै आदर गर्थे र उत्तिकै डराउँथे पनि। अहिले परिस्थिति धेरै फेरिएको छ; त्यो समयको जस्तो अनुशासन अहिले न शिक्षकमा देखिन्छ, न विद्यार्थीमा।

रङ्गमञ्चमा प्रवेश
रङ्गमञ्चमा मेरो प्रवेश वि.सं. २०३८ सालमा भयो। स्कुल पढ्दा नै हामीले राष्ट्रिय नाचघरमा ‘हेर्दिनुहोस् न एक पटक’ शीर्षकको नाटक मञ्चन गरेका थियौं। त्यतिबेला नाचघरको हल भाडा एक ‘शो’को दुई सय रुपैयाँ थियो। त्यो जमानामा पनि हामीले प्रतिटिकट एक सय रुपैयाँ तोकेर बेचेका थियौं, जुन निकै महँगो मानिन्थ्यो। 

तत्कालीन समयमा राष्ट्रिय सभागृहको हल भाडा करिब ११ सय रुपैयाँ र एकेडेमीको हल भाडा दुई हजारदेखि २५ सय रुपैयाँसम्म पर्थ्यो। नाटकहरूमा मेरो भूमिका प्रायः नेगेटिभ हुन्थ्यो।

पछि मैले ‘बदला’ भन्ने नाटकमा पनि अभिनय गरेँ, जसमा मेरो भूमिका नेगेटिभ नै थियो। यस नाटकमा अहिलेका चर्चित गायक रामकृष्ण ढकाल बालकलाकारका रूपमा हुनुहुन्थ्यो भने हिरोमा लक्ष्मी प्रसाईं हुनुहुन्थ्यो। त्यो समय नाटक गर्नु निकै कष्टकर थियो। 

मेरो घर धुम्बाराहीमा थियो भने नाटकको रिहर्सल भद्रकाली मन्दिरसँगैको घर (हाल निर्माणाधीन) मा हुन्थ्यो। महिना दिनसम्म रिहर्सल गर्दा पैसा आउने कुरै भएन, खल्ती रित्तो हुन्थ्यो। बस चले पनि भाडा तिर्ने पैसा नहुँदा धुम्बाराहीदेखि भद्रकालीसम्म पैदलै आउजाउ गर्नुपर्थ्यो। नाटक मञ्चन भइसकेपछि बल्लतल्ल सय रुपैयाँसम्म पाइन्थ्यो, त्यो पनि चल्यो भने। नत्र त्योभन्दा पनि कम हुन्थ्यो।

त्यसताका मैले मनहरि खड्का र रमेश बुढाथोकीका निर्देशनमा बनेका नाटकहरूमा अभिनय गरेँ। रङ्गमञ्चको यही अनुभवले मेरा लागि टेलिफिल्मको ढोका खोलिदियो। वि.सं. २०४३ मा रमेश बुढाथोकीकै निर्देशनमा बनेको टेलिफिल्म ‘तृष्णा’ मा मैले अभिनय गर्ने अवसर पाएँ। 

मैले पहिलो पटक नै टेलिफिल्ममा काम गर्दा सय रुपैयाँ पारिश्रमिक पाएको थिएँ, जुन त्यो जमानामा मेरा लागि ठूलो रकम थियो। त्यसपछि उहाँकै निर्देशनमा बनेका फिल्म तथा टेलिफिल्महरूमा काम हेरेर कहिले सय, कहिले दुई सय त कहिले पाँच सय रुपैयाँसम्म पारिश्रमिक पाइन्थ्यो। यसरी मैले ‘तृष्णा’, ‘त्याग’, ‘तपस्या’ लगायत थुप्रै टेलिफिल्ममा काम गरेँ।

त्यो बेला पनि फिल्म र टेलिफिल्म क्षेत्रमा ग्रुपिजम!
फिल्म र टेलिफिल्म क्षेत्रमा त्यो समयमा पनि काम पाउन ‘आफ्नै मान्छे’ हुनुपर्ने अवस्था थियो। अहिलेको जस्तै त्यतिबेला पनि ग्रुपिजम हाबी थियो। कुनै निर्देशक वा निर्मातासँग बाटोमा सामान्य भेटघाट मात्र हुँदा पनि बिनाआधार ‘यो फलानो समूहको मान्छे’ भनेर ट्याग लगाइन्थ्यो। कुनै समूहमा नहुँदा पनि ग्रुपिजमका कारण थुप्रै राम्रा कलाकारहरू पक्षपातको सिकार बन्थे र कामबाट वञ्चित हुन्थे। विडम्बना, यो प्रवृत्ति अहिले पनि कायमै छ; फलानो समूहको भनेर काम नदिने परिपाटी अझै हटेको छैन।

तर, मैले भने सुरुवाती दिनदेखि नै काम पाउन कसैको चाकरी गर्ने बाटो रोजिनँ। काम पाए गर्ने, नपाए नगर्ने मेरो आफ्नै अडान रह्यो। पछिल्लो समय मैले नीर शाहको निर्देशनमा बनेको फिल्म ‘कमला मिस’ तथा ‘झिँगे दाउ-२’ मा छोटो भूमिकामा अभिनय गरेको छु।

यस क्षेत्रमा मैले काम गरेको ४२ वर्षभन्दा बढी भइसक्यो। तर, मेरो अभिनय करिअरको पिक आवरमा म १२ वर्ष जापान बस्न पुगेँ। जसले गर्दा नेपालमै बसेर फिल्ममा निरन्तर काम गर्ने अवसर जुट्न सकेन। त्यो समयका नियमित दर्शकले त मलाई अझै पनि चिन्नुहुन्छ, तर अहिलेको नयाँ पुस्ताका दर्शकका लागि भने म त्यति परिचित नहुन सक्छु।

महिला कलाकारका लागि विगत र वर्तमान
मैले कलाकारिता सुरु गर्दा यस क्षेत्रमा महिला कलाकारहरू उपस्थिति राम्रो भइसकेको थियो। मभन्दा अघिल्लो पुस्ताका लागि भने पक्कै पनि माहोल सहज थिएन होला। मेरो पहिलो फिल्म यादव खरेलको निर्देशनमा बनेको ‘आँधीबेरी’ थियो, जसमा गौरी मल्ल, विनोद खरेल लगायतका कलाकार हुनुहुन्थ्यो। अर्थात्, मैले फिल्ममा प्रवेश गर्दाका बखत अभिनेत्रीहरूको उपस्थिति उल्लेख्य भइसकेको थियो।

तर, त्यतिबेला र अहिलेका महिला कलाकारहरूको पारिवारिक तथा सामाजिक पृष्ठभूमिमा भने निकै भिन्नता छ। त्यो बेला सम्भ्रान्त र सम्पन्न परिवारका छोरी-बुहारीहरू नाटक, टेलिफिल्म वा समग्र मनोरञ्जन क्षेत्रमा विरलै आउँथे; सायद परिवारको कडा बन्देजका कारण पनि उनीहरूलाई आउन सहज थिएन। त्यसताका प्रायः कमजोर आर्थिक अवस्था भएका र पढाइमा कमजोर भएका महिलाहरू नै यो क्षेत्रमा बढी देखिन्थे। अहिले भने परिस्थिति फेरिएको छ; सबै वर्ग र पृष्ठभूमिका महिलाहरू सहजै फिल्म क्षेत्रमा आइरहेका छन्।

त्यो समय अभिनयमा लाग्नेहरू साँच्चिकै कलाप्रेमी र खारिएका कलाकार हुन्थे। उनीहरूमा कामप्रतिको समर्पण र साधना देखिन्थ्यो। तर, अहिलेका कलाकारमा भने त्यतिबेलाको जस्तो मेहनत देखिँदैन। अचेल अभिनयको साधनाभन्दा पनि बोलीवचन र गफकै भरमा फिल्ममा काम पाइरहेको देखिन्छ।

असोज ८, २०८३ बिहीबार २२:५५:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।