रातो पहिरनमा सजिएका २५४ ‘जीवित देवी’, तलेजुको आँगनमा सामूहिक कुमारी पूजा (तस्वीरहरू)
काठमाडौं : विहानदेखिको झरीका बीच पनि काठमाडौंको ऐतिहासिक हनुमानढोका दरबार क्षेत्र बिहीबार अलौकिक र मनमोहक दृश्यले सजिएको थियो।
तलेजु भवानी मन्दिरको विशाल आँगनमा लहरै बसेका साना बालिकाहरू कुनै सामान्य बालबालिका जस्ता देखिँदैनथे, उनीहरूको मुहारमा साक्षात् ‘जीवित देवी कुमारी’को आभा झल्किएको थियो।
इन्द्रजात्राको दोस्रो दिनको अवसर पारेर हनुमानढोकामा नेवार समुदायका २५४ जना साना बालिकाहरूलाई भेला गराई परम्परागत सामूहिक कुमारी पूजा गरिएको हो।

झरीका कारण अभिभावकले छाता ओढाएर ल्याएका उनीहरू रातो पोसाक, शिरमा चम्किलो पगरी र मुकुट, परम्परागत नेवारी गहना, आँखामा गाजल र निधारमा तेस्रो आँखा अर्थात् ‘त्रिनेत्र’ले सजिएका थिए।
रातो पहिरनमा सजिएका बालिकाहरूको मुस्कानले दरबार क्षेत्रको ऐतिहासिक वातावरणलाई नै भक्तिमय बनाएको थियो।

नेवार समुदायमा बेल विवाह (इही) नगरिएका तथा महिनावारी सुरू नभएका बालिकाहरूलाई पवित्रताको प्रतीक मानिन्छ। उनीहरूलाई देवीको अंशका रूपमा पूजा गर्ने प्राचीन परम्परा रहिआएको छ।

धार्मिक विश्वासअनुसार बालिकाहरूलाई जीवित देवी कुमारीको रूपमा पूजा गर्दा उनीहरूलाई वर्षभरि कुनै रोगव्याधि लाग्दैन, आयु र आरोग्य बढ्छ, विघ्नबाधाहरू हट्छन् तथा पारिवारिक सुख-समृद्धि मिल्छ। साथै, तलेजु भवानीले यी बालिकाहरूको सधैँ रक्षा गर्ने जनविश्वास छ।







असोज ८, २०८३ बिहीबार १३:४६:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।